Pestol-attackतरहरा/सधैं शान्त रहेको इटहरी तिहारभर अशान्त बन्यो । भाइटीकाको बिहान तरहरामा गोली चल्यो भने इटहरी इलाका प्रहरी कार्यालय अगाडि नै लुटपाट हँुदा व्यवसायीहरु त्रसित बने ।जिल्ला प्रशासन कार्यालय सुनसरीले राति १० बजेपछि देउसी नखेल्न आग्रह गरेपनि तरहरामा गोली चलेको बिहानको समयमा समेत देउसी भैलो भइरहेको स्थानीयवासीले बताएका छन् ।

भाइटीकाको बिहान करीब पौने चार बजेतिर इटहरी–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा एक व्यक्तिले गोली चलाउँदा दुई जना घाइते भएका छन् । भोजपुर नेपालडाँडाका हरिप्रसाद विष्टले चलाएको गोली लागेर धनकुटा चानुवा गाविस स्थायी घर भएका तोर्ण पौडेल र सोही होटलका सञ्चालक जंगबहादुर राई घाइते भएका हुन् । घाइते भएका पौडेल सो होटलमा तीन महिनायता बस्दै आएका थिए । गोली हानेपछि विष्ट भागेका विष्ट बुधबार इटहरीमा पक्राउ परेको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पौडेल र विष्ट परिवारबीच जग्गा विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोली हान्ने विष्ट विराटनगरको गोग्राहा माविमा कक्षा १० का विद्यार्थी रहेको बताइएको छ । विष्टले होटलमा आÏनो नाम रविन्द्र थापा र ठेगाना सङ्खुवासभा–२ लेखाएको पाइएको छ ।घाइते पौडेल र राई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्केका छन् । जिल्ला प्रशासन कार्यलयले रातभर देउसी नखेल्न कडा निर्देशन दिएपनि तरहरा प्रहरी चौकीको कमजोरीको कारण रातभर देउसी भैलो कार्यक्रम भएको स्थानीयवासीले बताएका छन् । तरहराका अनील भट्टराईले गोली चलेको बिहान ४ बजेसम्म देउसी कार्यक्रम भएको बताए ।

सो बिहान ४ बजेसम्म पाँच ठाउँ जतिमा देउसी टोली रहेको उनले जनाए ।तिहारकै समयमा सोमबार इलाका प्रहरी कार्यालयनजिकै दाहाल कोल्ड स्टोरमा लुटपाट हुनको साथै सञ्चालकमाथि रड प्रहार भएको थियो । पसलमा बसिरहेको बेला लुटपाट गर्ने समूहले २ लाख ५० हजारभन्दा बढी रकम लिएर कुटपिट गरेको कोल्ड स्टोरले जनाएको छ । तर प्रहरीले भने यसभन्दा अगाडि पनि यो पसल ढिलो समयसम्म खुल्ने गरेको कारण पसलमै रक्सी खाएर विवाद हुँदा कुटपिट भएको हुनसक्ने बताए । टाउको र गालामा गम्भीर चोट लागेका दाहालको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।यही समयमा इटहरीस्थित हलगडामा दुई समूहबीच कट्टी हानाहान समेत भएको थियो ।