काठमाडौँ/साहित्यकार रमेश विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा उनको प्रतिमास्थल आरुबारीमा बालप्रतिभा पुरस्कार वितरण गरिएको छ ।
विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उहाँको जन्म भएको थियो । साहित्यकार विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने दुई गरी पाँच जनालाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो ।
समाजले स्थापना गरेको विकल बालप्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद रामेश्वर फुँयालले हाँस्य व्याङ्ग्यकार भैरव अर्याल र रमेश विकलजस्ता चर्चित साहित्यकारले जन्म लिएको जोरपाटी आरुबारी क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताए ।
कलाकार केके कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि भएकाे बताए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे र समाजका अध्यक्ष वेदमणि घिमिरेले साहित्यकार विकलको व्यक्तित्व एवम् कृतित्वका बारेमा प्रकाश पारेका थिए ।
प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ लगायत कृति चर्चित छन् । रासस