samधरान/इटहरीको पुरानो क्लब राष्ट्रिय जागृति क्लबले सुप्रसिद्ध सङ्गीतकार शम्भुजित बास्कोटालाई सार्वजनिक अभिनन्दन गर्नुका साथै ब्लाष्टकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।क्लब स्थापनाको ५० वर्ष पुगेको अवसरमा शुक्रबार साँझ इटहरीमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रममा अभिनन्दन र सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रकार महासङ्घका सुनसरी सचिव तथा ब्लाष्टका इटहरी संवाददाता बाबुराम सुवेदीलाई पत्रकारिता क्षेत्रमार्पmत् समाज रुपान्तरणमा योगदान दिएको भन्दै सम्मान गरियो । यसैगरी महासङ्घका सुनसरी उपाध्यक्ष वेदराज पौडेललाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका वरिष्ठ सङ्गीतकार बास्कोटालाई सार्वजनिक अभिनन्दन गरियो ।

यसैगरी समाजसेवी रामबहादुर ताल्चा भण्डेल, ध्रुवकुमार सुब्बा, साहित्यकार टीका आत्रेय, कलाकार निलम ढुङ्गाना र फुटबलर सञ्जु श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी ९ समूहलाई पछि पार्दैै नागी डान्स सेन्टर पहिलो भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सेभेन स्टार क्लब दोस्रो र लक्ष्मी डान्स सेन्टर तेस्रो भएका थिए ।

विजेता क्लबहरु पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः नगद १२ हजार, ८ हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । सांसद् कल्पना चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरीका अग्रज तथा स्थापित सङ्घ–संस्था र राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए । सम्मान तथा पुरस्कार क्लबका अध्यक्ष सञ्जीव ढुङ्गानासहित क्लबका पदाधिकारी र अतिथिहरुले प्रदान गरेका थिए । जनता स्कुलको खेल मैदानमा भएको कार्यक्रममा गायक हिमाल सागरसहित स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।