चतरा/पूर्वको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्रसम्म पुग्ने बाटो निर्माण हुन नसक्दा स्थानीयलाई आउजाउ गर्न कठिनाइ भएको छ ।
वर्षाले पहिरो झारेपछि सडक अवरुद्ध भएको छ । स्थानीयको पहलमा बाटो खोलेर सामान्य यातायात आउजाउ गर्न सक्ने बनाइए पनि हिलाम्मे सडकका कारण दुर्घटनाको जोखिम बढेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राई बताउँछन् । सडक मर्मत–सम्भार नहुँदा वर्षेनी हप्ता दिनसम्म लाग्ने धार्मिक कात्तिके मेला पनि प्रभावित हुने देखिएको स्थानीय बताउँछन् ।
‘मेला २५ गतेदेखि छ, अभैmसम्म बाटो बनेको छैन । धार्मिक मेलाका भक्तजनहरु वर्षेनी कम हुँदै जाँदैछन्’, स्थानीय व्यवसायी युवराज श्रेष्ठले भने, ‘एकातिर सामान्य व्यवसाय गर्ने हामी मारमा छौँ भने प्रसिद्ध तीर्थस्थलमा लाग्ने मेला लोप हुने सम्भावना छ ।’कात्तिके मेलालाई दृष्टिगत गर्दै वर्षेनी जिविसले धरानदेखि चतरा हुँदै वराहक्षेत्रसम्मको ग्राभेल सडक मर्मत गर्दा आउजाउ गर्न यात्रुहरुलाई सजिलो हुने गरेको यातायात व्यावसायी महेश श्रेष्ठ बताउँछन् ।
‘यसपालि काम शुरु भएकै छैन, मेला २५ गते लाग्छ । अब कहिले बाटो बन्ने हो, थाहा छैन ।’वराहक्षेत्रमा लाग्ने धार्मिक तथा पर्यटकीय कात्तिके मेला भर्न र वराहक्षेत्रको दर्शन गर्न आउने धर्मावलम्बीहरु वर्षेनी घट्दै गएको स्थानीय बताउँछन् । आधिकारिक तथ्याङ्क कसैले नराखे पनि व्यवसाय र भक्तजनहरुको चापलाई हेर्ने हो भने भक्तजनको घट्दो क्रम रहेको स्थानीय औलिया माविका प्रधानाध्यापक कृष्णप्रसाद कट्टेल बताउँछन् । सडकको दीर्घकालीन निर्माण र मर्मत–सम्भार नहुँदा धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्रमा आगन्तुकहरु आउन नसकेको स्थानीयको भनाइ छ ।