जाजरकोट (चौखा)/यहाँको चौखास्थित खाद्य संस्थानको भवन जीर्ण हुँदा काठको टेगोमा चामल राखिएको छ । योभन्दा अगाडि यस डिपोको भवनमा चामल स्थानीयको घरभाडा लिएर भण्डारण गर्ने गरिएको थियो । करिब २०० क्विन्टल चामल राख्नका लागि खाद्य भवनभित्र काठको टेगो प्रयोग गरी राखिएको छ । भवनभित्र जताततै मुसाले प्वाल पारेर चामल भण्डारण गर्ने ठाउँमा माटोको थुप्रो मात्र रहेको छ । चामल राखेको ठाउँमा हिलो, धुलो र ढुङ्गाका गिट्टीले गर्दा विजोग भएको देख्न सकिन्छ । सरोकारवाला निकायको चरम लापर्बाहीका कारण भवनको नियमित मर्मत सम्भार गर्न नसक्दा यहाँ पहिले गाई, गोरु, खच्चड हुल्ने गोठको रुपमा प्रयोग भएको स्थानीयको भनाइ छ । युद्धकालमा माओवादीले भात पकाउने, कार्यकर्ता सुत्ने र विभिन्न सामग्री भण्डारण गर्ने गरेका थिए । अहिलेसम्म यो भवन मर्मत नगरिँदा लाखौँको घाटा भएको छ । डिपोमा आएको चामल समेत सुरक्षित तरिकाले राख्ने ठाउँ नहुँदा थप समस्या भएको छ । डोल्पासम्म चामल ढुवानी गर्न सकिने उद्देश्यले निर्माण गरिएको यो भवन अहिले आफैँ बिरामी भएर थला परेको छ । काठको टेगामा राखिएका अधिकांश चामल कुहिने अवस्थामा पुगेको कर्मचारीले बताएका छन् । रासस