शनिश्चरे, मोरङ / दुवै मृगौला काम नलाग्ने भएर जीवनमरणको अवस्थामा रहेका मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका गोरेबहादुर दर्जीलाई बचाउने अभियानका लागि खडा भएको अभियान समितिले पहिलो दिन ११ हजार ५ सय १५ रुपैयाँ सहयोग संकलन गरेको छ । समितिले बुधबार मुख्य रुपमा सिलाई व्यावसायीहरुबाट सो रकम संकलन गरेको अभियान संयोजक भक्तबहादुर परियारले बताए । नगर क्षेत्रका सिलाई व्यवसायी एवम् दलित अगुवाहरुको अगुवाईमा भएको भेलाले दर्जीको उपचारमा सहयोग जुटाउनका लागि सिलाई व्यवसायी भक्तबहादुर परियारको संयोजकत्वमा ‘गोरे दर्जी बचाउ अभियान समिति’ गठन भएको थियो । समितिले पिडित दर्जीकी श्रीमती मीनकुमारी दर्जीको नाममा खोलिएको राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको खाता नम्बर २५६०००१९६११० मा आर्थिक सहयोग प्रदान गर्नुहुन अनुरोध गरेको छ ।

घरमै सिलाईको काम गर्ने ५६ वर्षीय दर्जीको विराटनगरस्थित गोल्डेन अस्पतालमा निशुल्क डाइलोसिस हुँदै आएपनि विराटनगर पुग्ने खर्च तथा औषधि र रगत किन्ने खर्च नभएर सातामा २ पटक गर्नुपर्ने डाइलोसिस २ सातादेखि हुन सकेको छैन । निशुल्क डाइलोसिस भएपनि औषधि, रगत किन्नका लागि साताको ६ हजार रुपैयाँ खर्च हुने भएकाले सो खर्च जुटाउन नसकेर विपन्न परिवार समस्यामा परेको वन समूह उपाध्यक्ष उद्धव विकले बताए । दर्जीको उपचारका लागि परिवारले ऋणपान गरेर २ लाख बढी रुपैयाँ खर्च गरिसकेका छन् । सिलाई व्यवसाय गर्दै परिवार धान्दै आएका दर्जीलाई ३ वर्षअघि मधुमेहको समस्या भयो । औषधि खाँदै गएर त्यसबाट छुटकारा हुँदै गर्दा मृगौलाको समस्या थपिएर उपचारमा संकट निम्तिएको हो । खर्च जुटाउन नसक्दा निशुल्क डाइलोसिसको भरले मात्र जीवन थेग्न समस्या परेको दर्जीकी श्रीमती मिनकुमारीले रुँदै विलौना गरिन् । निशुल्क डाइलोसिससँगै औषधि उपचारको समेत सरकारले प्रवन्ध गरिदिएमात्र विपन्न परिवारका लागि राहत पुग्ने उनले माग गर्दै आएकी छन् । यसैगरी, सोही टोलका उस्तै विपन्न परिवारका १२ वर्षीय उत्सव धिमालको टाउकामा क्यान्सर भएर उपचार खर्चको अभावमा समस्यामा परेपछि स्थानीयवासीको बुधबारकै भेलाले समाजसेवी साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउ अभियान समिति’ गठन गरेको छ । समितिमा सूर्य धिमाल, छत्र धिमाल, जीवन कटुवाल, मदन पोखरेल, दीपक राई, शेरबहादुर निरौला, मानबहादुर दियाली र दिनेश कोइराला सदस्य रहेका छन् । उपचारका लागि सहयोग संकलन अभियान अगाडि बढाउन उत्सव अध्ययनरत पथरीस्थित एभरेष्ट बोर्डिङसँग समेत छलफल गर्दै विभिन्न संघ संस्थाहरुसँग सहयोगको अपिल गरिएको सदस्य मदन पोखरेलले बताए । उत्सव सो बोर्डिङमा कक्षा ६ मा अध्ययनरत छन् । उपचारका क्रममा हालसम्म सम्पूर्ण ऋण गरेर १५ लाख रुपैयाँ खर्चसक्दा पनि विरामीको उपचार नसकिएकाले सहयोगका लागि अनुरोध गर्नु परेको उत्सवका बुबा छत्रबहादुर धिमालले सहयोगको याचना गरेका छन् । उनले ऋण र आफ्नो भएको सानो घर समेत बन्धक राखेर उपचार गर्दा पनि खर्चले नपुगेर समस्यामा परेको पीडा सुनाए ।