कञ्चनपुर/एक दशकदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ मालुबेलामा रहेको ग्वासी सामुदायिक वनले चार शिक्षकको तलब व्यहोर्दै आएको छ । सामुदायिक वनले काठ र दाउरा बिक्री गरेर आएको आम्दानीको केही हिस्सा ग्वासी निम्न माध्यमिक विद्यालयमा कार्यरत चार शिक्षकलाई निजी स्रोतबाट तलब उपलब्ध गराउन प्रतिवर्ष रु तीन लाख ५० हजार रकम उलब्ध गराउँदै आएको सामुदायिक वनका अध्यक्ष खेमराज पाण्डेयले बताए । विद्यालयमा दरबन्दीका शिक्षक पर्याप्त नहुँदा पठनपाठनमा समस्या भएको थियो अध्यक्ष पाण्डेयले भने, “निजी स्रोतबाटै नियुक्त गरिएका शिक्षकको तलबको व्यहोर्ने जिम्मा विसं २०६५ देखि सामुदायिक वनले लिएपछि सहजरुपमा विद्यालयमा पठनपाठन हुँदै आएको छ ।” विद्यालयसँग आर्थिक स्रोत नरहेको र अभिभावकले पनि आर्थिक दायित्व व्यहोर्न नसक्ने भएकाले सामुदायिक वनले वार्षिकरुपमा शिक्षकको तलबका लागि रकम उपलब्ध गराउन थालेपछि विद्यालयको पठनपाठन सहजरुपमा सुचारु भएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र पाण्डेयले बताए । विसं २०३५ मा स्थापना भएको विद्यालयमा ४०० बढी विद्यार्थी छन् ।