भद्रपुर/कार्यालयमा आउने सेवाग्राहीलाई कामगरिदिने भन्दै दलालीले रकम असुल्न थालेको जानकारीमा आएपछि झापाको एक सरकारी कार्यालयले दलालीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरमा काम लिएर आउने सेवाग्राहीवाट निशुल्क रुपमा गरिने कामलाई दलालीले रकम लिने गरेको गुनासो आएपश्चात दलालीलाई कार्यालयको मुलगेटमानै रोक लगाएको हो ।
कार्यालयमा अन्य महिनाको तुलनामा साउन देखि असोज मसान्तसम्म सेवाग्राहीको बढी चापहुने गरेको मौका पारेर लेखापढी गरिदिने भन्दै कामहेरी ५सय देखि २ हजारसम्म लिने गरेका थिए ।
लेखापढी व्यवसायीले केहि कडाई गर्नथालेपछि आन्तरिक राजश्व कार्यालय छिरेका दलालीले सेवाग्राहीवाट अवैधरुपमा रकम लिने गरेको जनगुनासो आएको थियो । निशुल्क रुपमा पाइने कागजातलाई समेत हाकिमलाई पनि रकम दिनुपर्ने भन्दै सोझा सिधा सेवाग्राहीवाट रकम असुल्ने गरेको गुनासो आएपछि दलालीलाई कार्यालय प्रवेशमा पुर्णरुपमा रोक लगाइएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत निर्मल ढकालले बताए । टन्न रक्सी खाएर कार्यालय प्रवेश गरी सेवाग्राहीलाई दुःख दिने गरेपछी मुल गेटमा बसेका सुरक्षाकर्मीले काम सोधेरमात्र भित्र पस्न दिने र पेशेवर दलालीलाई पुर्णप्रतिबन्ध लगाइएको ढकालले बताए ।
आफ्ना मातहतका कर्मचारीलाई समेत सेवाग्राहीलाई दुःख नदिई नियमसंगत कार्यसम्पादन गर्न निर्देशन दिएको उनले बताए । अन्य कार्यालयले दलालीलाई प्रवेश निषेध भनी भित्तामा टाँसेपनि कार्यान्वयन भएको पाइदैन तर आन्तरिक राजश्व कार्यालयले भने कार्यान्वयन गरेको देखिएको छ । मालपोत, नापी, जिल्ला प्रशासन लगायतका कार्यालयमा दलालीलेनै कर्मचारीको काम गर्दै आइरहेतापनि नियामक निकायले कुनै कारवाही गर्न सकेको छैन ।
































