bahulaउदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक सातायता बौलाहा कुकुरको बिगबिगी बढेको छ ।स्थानीय राजकुमार राईका अनुसार एक साताभित्र बहुला कुकुरको टोकाइबाट एक महिला र एउटा गाईको मृत्यु भएको छ भने एक बालिका सख्त घाइते भएकी छिन् ।

कुकुरको टोकाइबाट बाबरीकी ७० वर्षीया मनसरी राईको मृत्यु भएको र १० वर्षीया बालिका रेजिना राई घाइते भएको प्रहरीले जनाएको छ । कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईको गाई पनि मरेको छ । छ दिन अगाडिनै कुकुरले टोकेपछि सोमबार गाईको मृत्यु भएको बताइएको छ । गाईलाई बहुला कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाईपालक राईले बताए ।

अहिले जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाएर उक्त गाईको दूध खाने सबैलाई रेबिजविरुद्धको खोप दिन थालिएको प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए ।महिला, गाई र बालिका टोक्ने कुकुर पनि सोमबार बिहान मरेको प्रहरीले बताएको छ । सो बहुलाहा कुकुर गत सोमबार मरेपछि प्रहरीले सम्भावित अन्य कुकुर मार्ने अभियान शुरु गरेको छ ।