1234विराटनगर / सुनसरी छिटाहा–९ का देवकिशन मण्डलको हत्या सम्वन्धि जाहेरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । असोज १५ गते दिउँसो सुनसरी चिमडी गाविस ८ स्थित सडकमा मृत भेटिएका मण्डलको हत्या भएको भन्दै परिवारका सदस्यहरुले लिखित जाहेरी गर्दा इलाका प्रहरी कार्यालय दुहवीले अनुसंद्दान भइरहेको भन्दै जाहेरी दर्ता गर्न नमानेको मृतकका सालो चन्द्रकिशोर मण्डलले जानकारी दिए । मृतक मण्डल र उनका साथी नटिलाल माझी चिमडीका सियाराम चौधरीको घरमा रक्सि खान गएका थिए । पैसा तिर्ने विषयमा उनीहरुबीच विवाद हुँदा हातहालाहाल भएको थियो । त्यहि विवादमा सियारामसंगपनि झगडा भएको थियो । सियारामकी पत्नी गितादेवी चौधरीले मण्डलको जिउमा रक्सी बनाउँदै गरेको तातोपानी खन्याइदिएको र अरु दुई जनाले उनको हत्या गरेको चन्द्रकिशोर मण्डलले जानकारी दिए । घटना लगतै प्रहरीले अनुसंद्दान गरेको भएपनि जाहेरी दर्ता गर्न नमानेको परिवारको गुनासो छ । प्रहरीले हत्या आरोपमा सोमवार सियाराम चौधरी र गिता चौधरीलाई पक्राउ गरेको छ । नटिलाल माझी भने फरार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जाहेरी लिएको तर अनुसंधान पुराभएपछि मात्र दर्ता गर्ने गरी राखिएको जानकारी दिए । दुई जनालाई सोधपुछकालागि पक्राउ गरेको भन्दै उनीहरुसंग बयान लिइसकेपछि थप अनुसंद्दान अघि बढ्ने पोखरेलले बताए । स्थानीयवासीहरुले देवकिशनको हत्या भएको दावी गरिरहेको भएपनि राजनीतिक दवावका कारण प्रहरीले कारवाही अघि नबढाएको आरोप लगाएका छन् । पहिले नेपाली काग्रेंसले घटना मिलाउन प्रयत्न गरेकोमा अहिले काग्रेंस पछि सरेको छ भने नेकपा एमाले हत्याको घटनामा संलग्नहरुलाई जोगाउन सक्रिय रहेको स्थानीयले जानकारी दिएका छन् । पीडित परिवारले भने अभियुक्तहरुमाथि अनुसंद्दान गर्न सबैले सहयोग गर्नुपर्ने बताइरहेका छन् ।