pathari-park

शनिश्चरे/पथरीशनिश्चरे क्षेत्रको समग्र पहिचान उजागर गर्ने हिसावले नगरका अगुवाले नयाँ योजना बनाउँदैछन् । जुन योजना नगरपालिका अथवा शहर हुनका लागि आवश्यक पूर्वाधारमध्येको एक हो ।तिनतिरबाट जंगलले घेरिएको पथरीशनिश्चरे क्षेत्र प्राकृतिक र पर्यावरणीय हिसावले आफैंमा मनोरम छ ।

यसमा पनि कलात्मक उद्यान ( पार्क) ले नगरको मनोरमता बढाउँछ । वालबालिकादेखि बृद्धबृद्धासम्मका लागि टहलिने आकर्षक सुन्दर ठाउँ जो आजको आवश्यकतासँग जोडिएको कुरा मनन् गर्दै पथरीशनिश्चरे १ रत्नपार्क दक्षिणपश्चिमको क्षेत्रमा पहिचानयुक्त पार्क निर्माणका लागि नगरका अगुवाहरु एकमत भएका छन् । ‘यो पार्कलाई कला, साहित्य र संस्कृतिको संगमस्थलका रुपमा विकास गरेर नगरलाई सृजनात्मक हिसावले चिनाउने कुरामा हामी सर्जकहरुका तर्फबाट पार्क सिगार्ने कुरामा लागि पर्छाैं ।’– नगरको कला र साहित्यको साझा संस्था एभरेष्ट आर्ट फ्यूजनका सल्लाहकार अशोक सम्पाङले भने ‘ यसका लागि देश विदेशका कलाकर्मीलाई सामेल गरेर यस क्षेत्रको पृथक पहिचान बनाउन हामी समन्वय गर्न सक्छौं ।’ फ्यूजनले त यसअघिदेखि नै नगरलाई सृजनात्मकथलोका हिसावले चिनाउने अवधारणा बनाएर नगरपालिका र सर्जकहरुसँग छलफल गरिरहेको थियो ।

फ्यूजनको भेलामा सहभागि ख्यातिप्राप्त मूर्तिकार विक्रम श्रिले भनेका छन् ‘यति सुन्दर ठाउँलाई कलात्मक र सृजनात्मक पार्क बनाएर सुन्दरता थप्न मैले पनि योगदान पुर्याउन सक्छु ।’ संस्कृतिविद डा. सोम खतिवडाले पनि त्यहाँ वरीपरी बोट विरुवा लगाउँदै प्राकृतिक सुन्दरतालाई अझ सिगार्नका लागि पर्यावरणीय हिसावले सिमसार क्षेत्रको समेत प्रवद्र्धनको आवश्यकता देखाएका छन् । फ्युजनले पार्कको बीचभागमा मुटु आकारको पोखरी निर्माण गरी वोटिङ सञ्चालन, सारंगीको आकारमा २ वटा पौडी पोखरी, कलम निपको टुप्पो आकारको भ्यू टावर, नगरको पहिचानयुक्त आदिवासी धिमाल जातीको प्रतिमा, गेटमा नेपाललाई हिमाल, पहाड र तराईको साँस्कृतिक प्रतिनिधित्व गर्ने मानिसले उचालेको आकृति, ठाउँ ठाउँमा महान सर्जकहरुका प्रतिमा निर्माण गरी पार्कलाई कलात्मक हिसावले सिगार्ने अवधारणा नगरपालिका कार्यालय र विद्यालयमा पेश गरिसकेको छ ।

पञ्चायती व्यवस्थाको अन्त्यको बेला वन जंगल समेत विनास भए । त्यो बेला पञ्चायत माविले संरक्षण गर्दै आएको रत्नपार्क दक्षिणपश्चिमको जग्गामा करिव १२ विगाहा जग्गा ०५० सालताका सुकुम्बासी समस्या समाधान आयोगका नाममा जग्गा दर्ता गर्ने होडवाजी चल्यो । विद्यालयले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण हुन लागेपछि पुनरावेदन अदालतमा मुद्धा हाल्यो । जसबाट सो जग्गा अतिक्रमण हुनबाट रोकिएको त्यसबेलाका पथरी गाविस अध्यक्ष मोहन तुम्वापोले दृष्टान्त सुनाए । ‘त्यसरी जोगाएको जग्गा केही मात्रामा अतिक्रमण भइरहेको अवस्थामा त्यसलाई पूर्णरुपमा जोगाउनका लागि विद्यालयसँगको सहकार्यमा आकर्षक पार्क बनाउनु सान्दर्भिक हुन्छ ।’– उनले भने ।छलफलमा बोल्दै मोरङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले निचोडका रुपमा भने ‘यहाँका बोटविरुवा समेत संरक्षण गर्दै पार्क बनाउनका लागि नगरपालिका कार्यालयले विद्यालय र जिल्ला वन कार्यालयसँग समन्वय गरी सर्जक तथा विज्ञहरुको सहकार्यमा कार्ययोजना बनाएर अघि बढ्नु पर्छ ।’

नगरपालिका कार्यालयले सोमबार बोलाएको सो छलफलमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, पथरी गाविसका पूर्व अध्यक्ष तिलक वान्तवा, नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारी, नगरविकास समितिका अध्यक्ष पर्शुराम कार्की सहित समाजसेवी, दलका प्रतिनिधिहरुले नगरको पहिचानको पार्क बनाउनु पर्ने एउटैखाले धारणा राखेका छन् । बोटविरुवा समेत रोप्दै पर्यटक आकर्षण लागि पार्कको बीचमा सिमसार क्षेत्रमा आकर्षक पोखरी निर्माण गर्नेमा पनि एकमत भएका छन् ।