Khotang-hamrakura.jpgखोटाङ/जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।

जिल्ला विकास समितिमार्पmत् सञ्चालित एसबीएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताए । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि चार खण्ड गरेर क्रमिकरुपमा तीन आर्थिक वर्ष लगाएर फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।

पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज भएको गढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष बबी चाम्लिङले राससलाई बताए । सदरमुकाम दिक्तेलबाट करीब ४५ मिनेट पैदल यात्रापछि पुगिने गढीलाई संरक्षण र विकास गर्न परियोजनाले ४० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । तीन वर्ष अघिदेखि निर्माणको काम थालिएको पदमार्ग हालै सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर राजु श्रेष्ठले जानकारी दिए । समुद्री सतहदेखि करीब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीमा वि.सं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ ।