इटहरी/धरान र इटहरीबिचको सीमा विवाद फेरी एक पटक सतहमा आएको छ । पटक पटक हुने गरेको विवाद यो पटक पनि इटहरीले गाडेको स्वागत बोर्डका कारण चुलिएको हो ।इटहरीले आफ्नो उत्तरतर्फको सीमा चारकोसे झाडी बिचको सेउतीखोलको पुललाई मान्दै आएको छ, जबकी धरानका केही मानिसहरु तरहरा छेउका पानी पीयासम्मको क्षेत्रलाई धरान भन्दै आएका छन् ।
यसपटक दशैंको सेरोफेरोमा सेउती पुल छेउमा इटहरी उपमहानगरपालिकाले राखेको बोर्ड धरान काँग्रेसका सभापति तिलक राइको नेतृत्वको एउटा समुहले उखालेर फ्यालेपछि सीमा विवाद फेरी एक पटक बाहिर आएको हो । दुई वर्षअघि पनि इटहरीका कार्यकारी अधिकृत पशुपती खतिवडा हुँदा यस्तै विवाद बोर्ड राख्ने विषयमै भएको थियो । नक्सामा भने पानीपिया र सेउती पुल बिचको अग्नी रेखालाई आधार मानेर इटहरी र धरान छुट्टिएको देखिन्छ । दुवै उपमहानगरपालिकाले आफ्नो आधिकारीक वेवसाइटमा पनि त्यही सीमाना कोरिएको नक्सा राखेका छन् । गुगल म्यापमा पनि सोही सीमालाई देखाइएको छ ।
तर व्यवहारमा भने सेउती पुलसम्म इटहरीको बढी उपयोग देखिन्छ । खासगरी सेउती पुलसम्मको क्षेत्रमा इटहरी प्रहरी र पुल उत्तरको क्षेत्रमा धरान प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यस्तै हाँसपोसा गाविस हुँदै हालको तरहरा प्रहरी चौकीभन्दा उत्तरतर्फका घरजग्गाको धनीपुर्जाहरुमा पनि हाँसपोसा गाविस उल्लेख छ । त्यसैको आधारमा मालपोतलगायत कर दस्तुर सरकारले उठाउँदै छ । त्यस्तै हाँसपोसा सामुदायिक वन उपभोक्ता समुह र अझ भवानिपुर सामुदायिक वन समुहले त सेउति पुल पारी ७०० मिटर उत्तरसम्म गस्ति गरी वन संरक्षण र संवद्र्धन गर्दै आएको साबिक हाँसपोसावासीको भनाई छ । चारकोसे झाडी नजिक पर्ने हाँसपोसा इटहरीमा गाभिएर इटहरी उपमहानगरपालिका बनेको थियो । इटहरी उपमहानगरपालिकाले राखेको स्वागत बोर्ड उखाल्ने राईले वास्तविकताअनुसार सीमाना कायम हुनुपर्ने बताए । ‘जे हो, त्यही सीमा कायम हुनुपर्छ,’ उनले भने, ‘प्रहरीको सीमा फरक हुन्छ, कार्यक्षेत्रअनुसारको सीमाना स्वीकार्य हुँदैन ।’ उनले धरान उपमहानगरपालिका र सर्वदलीय बैठकको निर्णयलाई समेत इटहरीले नटेरेको र पटक पटक आग्रह गर्दा पनि नमानेपछि बोर्ड निकालेको बताएका छन् ।
उनीसहितको समुहले बोर्ड उखेलिदिएको थियो ।बोर्ड विवादपछि इटहरी उपमहानगरपालिकाका कर्मचारी तथा साबिक हाँसपोसामा पर्ने तरहराका वासीन्दा सञ्जीव खड्काले फेसबुकमा स्टाटस नै लेखेर धरानले यत्रो वर्ष दाबि नगरेको र अहिले आएर विवाद झिकेको आरोप लगाएका छन् । उनले धरानको दावी गलत भएको बताउँदै नक्सा संसोधन गर्नुपर्ने बताएका छन् ।धरान काँग्रेस सभापतीको यस्तो गतिविधि एक्कासी भएको भन्दै इटहरीका राजनीतिक दल प्रतिनिधिले असन्तुष्टि प्रकट गरेका छन् । तथापी दलहरुले चासो दिएर अध्ययन गरेको विषय नभएका कारण फरक फरक प्रतिक्रिया आइरहेका छन् ।नेपाल सरकारले उपमहानगरपालिका घोषणा गरेलगत्तै पनि इटहरी र धरानबिच सीमा निर्धारणमा समस्या देखिएको थियो ।
छिमेकी गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा भएलगत्तै इटहरीले सिमाक्षेत्र भन्दै सेउती पुल नजिक स्वागत बोर्ड राखेपछि विवाद निम्तिएको हो ।धरान उपमहानगरले आफ्नो सिमाक्षेत्र अतिक्रमण हुने गरि इटहरीले बोर्ड राखेको भन्दै औपचारिकरुपमा नै इटहरीसँग असन्तुष्टी जनाइसकेको छ । धरान उपमहानगरले पत्र पठाएर नै आफ्नो सिमाक्षेत्रमा बोर्ड राख्न आग्रह गरेको जनाएको छ । पत्र पठाएर नै जिआइएसअनुसार आफ्नो सिमाक्षेत्र यकिन गरेर बोर्ड राख्न धरानले भनेको थियो । जिआइएस अनुसार चाहिँ सेउतीपुल दक्षिणको अग्नी रेखालाई सिमाना बनाइएको छ । तर धरान र इटहरीले सेउती पुलसम्म सिमाना मान्दै आएका थिए । सरकारले जनसंख्या, एमसिपिएम मुल्यांकनसँगै क्षेत्रफलको आधारमा पनि अनुदान पठाउने गरेको जानकारी पाएपछि मात्रै धरानले आफ्नो वास्तविक क्षेत्रफल र सिमाना कोट्याउन थालेको हो ।
यसअघि जिविस परिषदले पनि सरकार एवं जिआइएस सिमांकनको आधारमा सिमाक्षेत्र मान्ने निर्णय गरिसकेको बताइएको छ ।तर धरानसम्मको वन क्षेत्र आफ्नो भएको दावी गर्ने हाँसपोसावासीहरु धरानको दावी मान्न तयार छैनन् । चारकोसे झाडीसहितको क्षेत्र इटहरीमा पर्ने गरी नक्सा संशोधन हुनुपर्ने तरहरावासीको तर्क छ । तरहरामा बस्ने नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य छत्रपती लामा २२ र २३ सालमा गरेको सीमांकनलाई नयाँ नेपालमा सच्याउनुपर्ने बताउँछन् । उनी धरानको नेपाली काँग्रेसले अपमानजनक तरिकाले बोर्ड भत्काएको भन्दै इटहरीका प्रमुख राजनीतिक दलका नेताहरुले चासो नदिएको गुनासो गर्छन् । ‘पैसा आउने कुरामा चाहिँ सबै दलका नेताको कान र आँखा चनाखो हुने,’ उनी भन्छन्, ‘वर्षौंदेखिको यो समस्या समाधान गर्न चाहिँ कोही पनि चासो दिँदैनन् ।’सीमानाको विषयमा विभिन्न व्यक्तिले विभिन्न प्रतिक्रिया दिएपनि समस्याको समाधान गर्न दुवै पक्ष बसेर दीर्घकालिन समाधान खोज्नुपर्ने बताइएको छ ।