बयरवन (मोरङ)/मापासे गरेका स्थानीय केही युवाहरुले सुन्दरदुलारी–१० चौधरी गाउ हवालीको एक घरको सिसा तोडफोड गर्दै घरमा आएका एक पाहुनासहित ३ जनामाथि आक्रमण गरेका छन् । hit स्थानीय अनिल शर्माको समूहले बुधबार राति करिव साढे ९ बजेतिर तारा प्रधानको पत्नी मिरा प्रधान र पाहुना आएका भोजपुरका सरोज प्रधान र झापा चकचकी–६ का गंगा प्रधानमाथि आक्रमण गरेका हुन् । मिराको आँखाको भागमा चारटाँका लागेको छ भने सरोजको देब्रे हातको कान्छी औला भाच्चिएको मिराका पति ताराले बताए । उनले आफूमाथि पनि छुट्याउन जाने क्रममा हातपात गरेको बताए । उनका अनुसार शर्मा मापासे गरेर घरमा आएको र आफूहरुले घर जानको लागि भन्दा पछिल्तिरको झ्यालको सिसा तोडफोड गरेका थिए । तोडफोड गरेपछि किन गरेको भन्दा उल्टै केही युवाहरु बोलाएर मिरालाई लछारपछार गरेको र पाहुनाहरुमाथि पनि हातपात गरेको उनले बताए । उनका अनुसार करिव १२–१५ जनाको समूहमा आएका ती युवाहरुले आक्रमण गरेका थिए । शर्मा यस अघि पनि विभिन्न मुद्दा लागेका व्यक्ति हुन् । पीडितले स्थानीय अस्थायी प्रहरी चौकीमा उजुरी दिएका छन् । अहिले उनीहरुको खोजी कार्य जारी राखेको छ । पीडितहरुमाथि आक्रमण भए पनि उल्टै उनका दाई बिमल शर्माले घरमा आएर मिल्नको लागि दवाव दिएको पीडितहरुले बताएका छन् । ‘मिल्छौ भने मिल नत्र उ फटाहा हो जे पनि गर्न सक्छ । राति आएर जे पनि हुन सक्छ भन्दै धम्क्यायो ।’ पाहुना गएका एकजनाले भने । पीडितहरुलाई उल्टै उपचार खर्च आधा आधा बोहोरेर गाउँघरमै मुद्दा मिल्नको लागि भनेको स्थानीयले बताएका छन् । उनीहरुको स्थानीय गछिया मेडिकल हलमा उपचारपछि घर फिरेका छन् ।