धरान– बच्चु कैलाश नेपाली सुगम संगीतमा थोरै गीत गाएर पनि स्थापित गायक हुन् । विसं १९९५ साउन १५ गते काठमाडौंमा जन्मनु भएका गायक कैलाशले गीत गाउन सुरु गरेको ५६ वर्ष पुगेको छ । उहाँको पहिलो गीत कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन निकै चर्चित छ ।
कैलाशले यो अवधिमा झण्डै ५० वटा गीत गाउनुभएको छ । उहाँले गाएका मध्ये कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन, टाढा टाढा जानु छ साथी, तिमीले त हैन तिम्रा आँखाहरुले लगायतका गीत चर्चित छन् । बच्चु कैलाशले झण्डै २० वर्षअघि सुनिल देउराको शब्द र शक्ति बल्लवको संगीतमा विपनिका सारा कथा बोलको गीत गाएपछि अर्को गीत गाउनुभएको छैन ।
उहाँले मनको बाँध, मनकामना, प्रेमपिण्ड चलचित्रका लागि गीत गाउनुभएको थियो । उनै बच्चु कैलाशले विस २०३४ सालमा प्रकाशन भएको भानु विचार पुस्तकमा जीवन गीत बारे लेख्नुभएको विचार यस्तो छ स्
जीवन र गीत अनि गीत र जीवन अन्योन्याश्रित छन् । मानिस आफूलाई मनपर्ने अभिव्यक्तिमा स्वर मिलाउँदै गीत गाउँछ तर जहिलेसुकै अभिव्यक्तिको सेरोफेरो चाहिँ जीवन नै हुन्छ । यसरी गीत र जीवन सदाकालदेखि सँगसँगै छन् ।
गीत मानौँ मेरो जीवनको कहिले नछुटिने साथी हो र यसले मलाई केही नौलो, रमाइलो, रहरलाग्दो सम्मोहन दिइरहेको अनुभव हुन्छ । हामी जीवन भोग्दछौँ र गीतमा पोख्दछौँ । हाम्रो जीवन भोलि त रहँदैन तर हिजो र आज जहिलेसुकै लेखिए वा गाइएको गीत किन नहोस् त्यसले हाम्रो जीवनलाई कुनै न कुनै रुपमा छोइरहेको हुन्छ । सायद गीतको यही महिमाशाली शक्तिले गर्दा हामी गीत सुन्दछौँ र आत्मसात गर्दछौँ ।