सिरहा / स्थानीय र प्रहरीबीच भएको झडपमा शनिबार बेलुका ३ प्रहरी घाइते भएका छन् । प्रहरीको एक मोटरसाइकल जलाइएको छ । प्रहरीको कुटाइले एक महिलासमेत घाइते भएकी छिन् ।

जिल्ला सदरमुकाम सिरहास्थित वडा प्रहरी कार्यालय ‘ख’ का प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, सोही कार्यालयका प्रहरी सहायक निरीक्षक चितनारायण माझी र प्रहरी हवल्दार रामकुमार यादव घाइते भएका हुन् । गम्भिर घाइते भएका प्रहरी सहायक निरीक्षक माझिलाई उपचारका लागि विराटनगर लगिएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । प्रहरीको कुटाइबाट सिरहा २ का मूलहीदेवी यादव घाइते भएका हुन् । अन्यको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ । सिरहा २ स्थित किराना पसल संचालक रामदेव यादवको पसलमा लुटपाट गर्दै सिरहा १ का आकाश यादवलगायतका युवाहरुले कुटपिट गरिरहेको खबर आएपछि आफू घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक यादवले बताए ।