धरान/ धरानको सबैभन्दा पुरानो खसीबोका बजारमा दशैँका लागि बोका किन्न पुगेका धरान–१० का अशोक श्रेष्ठ दाम सुनेरै चकित भए । २० केजीको बोकाको मूल्य २० हजार भनेपछि उनी दोमन गर्दै बजारमा घुमिरहे । ‘साह्रै महङ्गो भयो । चाडबाडले गर्दा यस्तो भएको होला ।’ उनी भन्छन् । विशेष गरी शुक्रबारका दिन यहाँ पूर्वी पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुरसम्मका खसीबोकाहरु बिक्रीका लागि ल्याइन्छन् ।

dansai

दशैँको बेला खसी बजारको चहलपहल नै बेग्लै हुन्छ । एकजना व्यापारीले यो बेलामा सयभन्दा बढी खसीबोका बिक्री गर्छन् । धरान–२५ विष्णुपादुकाका खसीबोका व्यापारी देव राई भन्छन्, ‘आजै मात्र मैले ४० वटा जति बिक्री गरिसकेँ ।’ शुक्रबार मात्रै लाग्ने भए पनि दशैँको बेला भने बिहीबारदेखि नै बजारमा भीडभाड हुने गरेको छ । खसीबोका किन्नको लागि पूर्वी तराईका व्यापारीहरु मात्रै होइन, दशैँलाई लक्षित गर्दै ग्राहकहरुसमेत यहाँ आइपुग्ने गरेका छन् ।शुक्रबार बजारमा भेटिएका इटहरी उपमहानगरपालिका–२५ तरहराका देवीचरण लुइँटेल दशैँको लागि खसी हेरिरहेका थिए तर उनले भनेजस्तो खसी पाउन सकिरहेका थिएनन् ।

‘बजारमा भनेजस्ता खसी छन् तर अलिक महङ्गो भएजस्तो छ’, उनले भने, ‘घरको लागि १० केजीसम्मको खसी लिन आएको तर किन्न सकिरहेको छैन । बजार घुमिरहेको छु ।’ खसीबोका किन्नको लागि पश्चिमको लहान र पूर्व बिर्तामोडसम्मका व्यापारीहरु यहाँ आउने गरेको कृषि उपज बजार स्थलका कर्मचारीहरु बताउँछन् । दशैँको बेला अत्यधिक खसीबोकाको व्यापार हुने गरेको कारणले पनि धरानको बजारमा चहलपहल बढेको हो । अन्य बेला ९ बजेसम्म बजार रित्तिसक्थ्यो भने अहिले झण्डै २ बजेसम्म बजारमा खसीबोका किनबेच भइरहन्छ ।धरान–१७ का खसी व्यापारी परशुराम बस्नेतले बिहीबार मात्रै ७० वटा बोका बेचेको बताए । ‘आज भर्खरै ल्याइपु¥याउँदै छु । ६–७ वटा बेचिसकेँ ।’ करीब ९ बजे भेटिएका उनले भने । उनका अनुसार बजार सारै महङ्गो वा सारै सस्तोसमेत छैन । ग्राहकहरुलाई अन्य बेलाभन्दा केही महङ्गो लाग्न सक्ने बताए । उनी १७ वर्षको उमेरदेखि खसी व्यापारमा लागेका पुराना व्यापारी हुन् । यही व्यापारमा उमेर बिताइसकेका उनी दशैँ बजारलाई सामान्य रुपमा लिन्छन् ।

‘अन्य बेलाभन्दा दशैँमा धेरै बिक्री हुन्छ ।’ उनी भन्छन् ।आर्थिक वर्ष २०७२÷०७३ मा यहाँ २२ हजार ६ सयवटा खसी बिक्री भएका थिए । प्रतिकेजी ५ सय रुपैयाँका दरले हिसाब गर्दा २२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि उपज बजार स्थलले बताएको छ । दशैँतिहारको बेला एकै दिन गत वर्ष १२ सय वटासम्म खसीबोका बिक्री भएको कृषि उपजका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउन, भदौ र असोजको दोस्रो सातासम्म आइपुग्दा ५५ सयवटा खसीबोका बिक्री भइसकेका छन् । यसको मूल्य साढे ५ करोड हुन्छ ।यो दशैँमा एकै दिन १५ सय वटासम्म खसीबोका बिक्री भएको आँकडा बजारसँग छ । यसको मूल्य डेढ करोडको हाराहारीमा हुन्छ । यो बजार २०५८ सालदेखि लाग्न थालेको हो । यस अघिसम्म पालिका तरकारी बजारको वरपर लाग्ने गरेको जानकारहरु बताउँछन् ।