बिर्तामोड/ अपरिचित व्यक्तिले एक सर्वसाधारणको घरमा बिहीबार राति यहाँ बम प्रहार गरेको छ । सुमन राजवंशीको घरमा सुत्ली बम प्रहार भएको बिर्तामोडका डीएसपी खडकबहादुर खबीले जनाए ।घटनामा संलग्न व्यक्तिको पहिचान भएको छैन । इलाका प्रहरी कार्यालयनजिकै राति करीब पौने १ बजे अचानक ठूलो आवाज आएपछि राजवंशीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा १५ मिनेटभित्रै प्रहरी पुगेको खत्रीले बताए । प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । एक महिनाअघि पनि राजवंशीको ससुराली गरामनी–२ हर्चनामा समेत केही अपरिचित व्यक्तिले खाली रहेको घरमा आगजनी गरेका थिए ।
सो घटनामा संलग्नहरुलाई समेत हालसम्म पक्राउ नपरेको राजवंशी परिवारले बताएको छ ।बिहीबार राति भएको घटनामा राजवंशीको घरको भित्तामा बमको छर्राले लागेको छ भने बारुदलगायतका विस्फोटक पदार्थ घटनास्थलमा फेला परेको छ । राजवंशी नेपाली काङ्ग्रेसनिकट नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका जिल्ला सहसचिव हुन् ।घटनाबारे बिर्तामोडका डीएसपी खत्रीले राजवंशी परिवारमाथि पटकपटक यस्ता घटना भइरहेका हुँदा रिसइवी साध्ने उद्देश्यले घटना गराइएको हुन सक्ने जनाउँदै घटनामा संलग्नहरुको व्यापक खोजी जारी रहेको बताए ।