विराटनगर/ दशैँको समयमा लोकमार्गमा हुनसक्ने अवाञ्छित गतिविधि तथा सवारी दुर्घटनालाई समेत दृष्टिगत गरेर मोरङ प्रहरीले विशेष सुरक्षा तयार गरेको छ ।पूर्व–पश्चिम लोकमार्गका दुई स्थान र उर्लाबारी–रङ्गेली–विराटनगर सडकका दुई स्थानमा विशेष टोली परिचालन हुने भएका छन् । लोकमार्गमा पर्ने उर्लाबारीमा इलाका प्रहरी कार्यालयले नै कमान्ड सम्हाल्ने छ भने पथरीबाट पश्चिममा पर्ने जिरिखिम्ती वरपरको जङ्गल क्षेत्रमा एउटा टोली खटाइने छ ।
त्यस्तै बेलबारी डाँगिहाटको बीचमा अर्को ‘क्वीक रेसपोन्स टिम’ स्थापना गरी लोकमार्गको सुरक्षामा परिचालन गर्ने तयारी भएको बताइएको छ । उर्लाबारी–रङ्गेली–विराटनगर खण्डमा भने राजघाट र झपडतल बक्राहा पुलवरपर ‘क्वीक रेसपोन्स टिम’ परिचालन गरिने छ । नियमितबाहेक चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न जिल्लाभर ६० टोली परिचालन गरिने छ ।त्यसमा हतियारसहित मोटरसाइकल र साइकल गस्ती पनि रहने मोरङ प्रहरीले जनाएको छ ।विराटनगरबाहिरको क्षेत्रलाई नौ भागमा विभाजन गरी प्रहरी परिचालन गरिएको र त्यसले जिल्लाका सबै क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउन सहज हुने एसपी सन्दीप भण्डारीले बताए । यसका लागि नगर क्षेत्रमा ४ सय ५० जना र ग्रामीण क्षेत्रमा ९ सय गरी १३ सय ५० जना प्रहरी जवान तथा अधिकृतहरु परिचालित हुने छन् । त्यसबाहेक एउटा सिनियर अफिसरको कमान्डमा एउटा रिजर्भ टोली तैनाथी अवस्थामा राखिने छ भने ट्राफिक प्रहरीलाई पनि आवश्यकताअनुसार नियमित परिचालन गरिने योजना तयार पारिएको छ ।