रुखबाट लडेर मृत्यु
- असोज २१, २०७३
- ब्लाष्ट खबर
पाँचथर/रूखबाट लडेर पाँचथरको लुङरुपा–९ का एक युवकको विहिबार मृत्यु भएको छ । मृत्यु हुनेमा हरिकुमार थापाका २२ वर्षीय छोरा गोपाल थापा रहेका छन् ।
रूखको घाँस काट्दै गर्दा हाँगा भाँचिएर सख्त घाइते भएका उनको उपचारका लागि ल्याउँदै गर्दा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो ।
खुकुरी प्रहारबाट दम्पती गम्भीर
यसैगरी, पाँचथरको एकतीनमा एक युवकको खुकुरी प्रहारबाट दम्पती गम्भीर घाइते भएका छन् । घाइते हुनेमा एकतीन–२ का भरत आङथोपो र उनकी श्रीमती सरस्वती आङथोपो रहेकी छिन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिहीबार राति ८ बजेतिर स्थानीय प्रकाश आङथोपोले बहिनीको सिक्री चोरेको आरोप लगाउँदै उनीहरुमाथि खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो । घटनामा संलग्न प्रकाशलाई राति १ बजे पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । रासस