धरान/विमल स्मृति पुस्तकालयले रजत जयन्तीको अवसरमा दुईदिने कविता महोत्सव गर्ने भएको छ । पुस्तकालय सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर २४ र २५ गते कविता महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सवको पहिलो दिन ‘समकालीन नेपाल कवितामा सांस्कृतिक चेत’ विषयमा विमर्श हुने छ भने दोस्रो दिन २५ औँ प्रतियोगितात्मक कविता महोत्सव हुने छ । हरेक वर्ष कात्तिक १९ गते कवि विमल गुरुङको जन्म जयन्ती र पुस्तकालयको स्थापना दिवसको अवसरमा कार्यक्रम कविता महोत्सव हुने गरेको थियो ।
यसपटक त्यस बेला तिहार पर्ने भएपछि कार्यक्रम सारिएको समितिका सचिव चेवन राईले पत्रकार सम्मेलनमा बताए । पुस्तकालयको रजत महोत्सव गत वर्ष नै आयोजना गर्ने तयारी थियो तर अघिल्लो वर्ष पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकी धर्मपत्नी सरस्वतीको निधन भएपछि रजत जयन्ती मनाइए । आगामी महोत्सवमा एकजनालाई अभिनन्दन र दुईजनालाई सम्मान गरिने समितिका सदस्य एवम् पत्रकार राजेश विद्रोहीले जनाए ।
उनका अनुसार प्रतियोगितात्मक कविता महोत्सवमा आएका कविताहरुमध्ये निर्णायकहरुको मतको आधारमा पहिले उत्कृष्ट १५ कविता छनोट गर्दै कार्यक्रमको दिन उत्कृष्ट तीनजनालाई विजेता घोषणा गरिने छ । यसपटक पहिलोलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिने सचिव राईले बताए । यो अघिल्लो पटकभन्दा जनही ५ हजार रुपैयाँले बढी हो ।
कविताहरु इमेल, हुलाक वा आपैmँ आएर बुझाउन सक्ने छन् तर कविता कम्प्युटर टाइप गरेको हुनुपर्ने प्रावधान समितिले तोकेको छ । सोही अवसरमा दशैँतिहार तथा छठको अवसरमा शुभकामनासमेत आदानप्रदान गरिएको थियो । पुस्तकालयका अध्यक्ष एवम् कवि विमलका पिता पूर्णबहादुरले सबैमा सुख, शान्ति र समृद्धिको कामना गरे । कवि विमलको स्मतिमा पुस्तकालय २०४८ सालमा स्थापना भएको हो । आगामी कात्तिक १९ गते कवि विमलको ४५ औँ जन्मजयन्ती हो ।