बिर्तामोड/सिद्धार्थ बैङ्कले सेवाग्राहीलाई नक्कली नोट दिएको छ । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा शाखा कार्यालय रहेको सिद्धार्थ बैङ्कले बिर्तामोडका हेमन्त रिजाललाई बिहीबार एक हजार रुपैयाँको नक्कली नोट दिएको हो ।

दमकका रोशन श्रेष्ठले रिलायबल रेमिटमार्पmत् पठाएको १ लाख रुपैयाँ रिजालले सिद्धार्थ बैङ्कबाट निकालेका थिए । एक लाख रुपैयाँको बण्डलको पहिलो नोटनै नक्कली छ । सिद्धार्थबाट पैसा निकालेका रिजाल सानिमा बैङ्कमा जम्मा गर्न गएका थिए । बण्डलमा एक हजारको नोट नक्कली रहेको सानिमा बैङ्कका कर्मचारीले थाहा पाएका हुन् ।

nakkali note

तर, सिद्धार्थले नक्कली नोट फिर्ता लिनै नमानेको रिजालले बताए । ‘बैङ्कबाट बाहिर गइसकेपछि नक्कली होस् कि सक्कली होस्, फिर्ता हुँदैन भने सिद्धार्थका कर्मचारीले’, सिद्धार्थले दिएको नक्कली नोट देखाउँदै रिजालले भने, ‘उनीहरुले केही गर्दापनि नक्कलीको सट्टा सक्कली नोट दिन मानेनन् ।’ यसबारेमा जानकारी लिन बैङ्कको टेलिफोन नम्बर ०२३–५४५७६० मा सम्पर्क गर्दा कार्यालय प्रमुख कार्यालयमा नभएको जानकारी दिइयो ।

आशिष नाम बताउने बैङ्कका अपरेशन इञ्चार्जले यस विषयमा केही थाहा नभएको बताए ।यसैबीच सञ्चार माध्यमबाट बैङ्कमा फोन गएपछि बैङ्कले बोलाएर नक्कली नोट फिर्ता लिएको जानकारी रिजालले दिएका छन् ।