ताप्लेजुङ/चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको काम दशै पछि सुरु हुने भएको छ ।
३७.६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सम्पुर्ण प्रकृया पुरा भईसकेकाले अबको करीब एक महिना भित्र काम सुरु भईसक्ने आयोजनाका प्रवद्र्धक प्रदिप कुमार श्रेष्ठले बताए ।

ताप्लेजुङ र पाँचथरको सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी भएको यो आयोजना निर्माणको लागि लगानिको समस्या नभएकाले तीन वर्ष भित्र काम सम्पन्न गर्ने लक्ष रहेको श्रेष्ठको भनाई छ ।
यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढाउन सकेको थिएन । स्थानियको सहभागितामानै आयोजना निर्माण गर्ने योजना रहेको साथै दश वटा देशमा उत्कृष्ठ काम गरी सकेको कम्पनीले निर्माणको जिम्मा लिएकाले पुन विवाद नहुनेमा आफु ढुक्न रहेको श्रेष्ठको दावि रहेको छ ।
काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत सेयर लगानी रहेको छ । कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सडक लगायत पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले आयोजना निर्माण चाडो हुने निर्माण कम्पनी झिझ्याङले बताएको छ ।
निर्माणको जिम्मा झिझ्याङ, टीडब्लू र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएका छन् । यसअघि कम्पनीले स्थानीयसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।
आयोजना प्रभावित क्षेत्रहरू पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसमा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
अमरपुरको वडा नं. २ र ५ को खोलाखर्कमा पोखरी बनाइ साढे चार किलोमिटर सुरुङमार्गद्वारा सो पानी अमरपुर ९ पिनासी घाटको पावर हाउसमा खसाउने गरी पूर्वाधार निर्माणको काम भएको हो । यस्तै, स्थानीयसँगको सम्झौताबमोजिम नौ मिटर चौडाइ भएको सडक निर्माण पनि गरिएको छ ।
काबेली ए जलविद्युत् आयोजनाको पावर हाउस निर्माण हुने स्थल । तल काबेली नदि माथि पावरहाउस जाने निर्माणाधिन सडक । फोटो- रविन भट्टराई