तरहरा/प्रहरी सेवा नियमावलीमा प्रहरीले तराईका जिल्लामा बढीमा दुई वर्ष, पहाडमा डेढ वर्ष र हिमालमा एक वर्षसम्म बस्न पाउने व्यवस्था छ । तर पूर्वी नेपालको मुख्य शहरहरुमा भने शक्तिकेन्द्र, चाकडी, रकमको चलखेल तथा नेताको सिफारिसमा वर्षौंदेखि सुगम जिल्लामा बस्ने प्रहरीको सङ्ख्या बढ्दो छ । सीमा क्षेत्र, भन्सार, एयरपोर्ट, सदरमुकामजस्ता ठाउँमा प्रहरी हाकिमका आसेपासेहरु नियमावलीभन्दा बढी बस्दैआएका छन् ।
सरुवा भएको ठाउँमा लामो समयसम्म नगइ तथा अन्य ठाउँबाट सोर्सफोर्सको भरमा पूर्वको सुगम जिल्लामा काजमा बस्ने प्रहरीको सङ्ख्या बढ्दो छ । उनीहरूले तोकिएको ठाउँमा नगइ प्रमुख शहरहरु चहार्ने गरेका छन् । जिल्लाका प्रहरी प्रमुखहरुले पनि आप्mनो नजिकका प्रहरीहरुलाई चौकी तथा राम्रो ठाउँमा पठाउने गरेको सुनसरी दरबन्दी भएका एक सईले नाम नखुलाउने शर्तमा भने । प्रहरीमा जागिर खाएपनि आफ्नो मान्छे नहुनेहरू वर्षौंदेखि पहाडी तथा हिमाली जिल्लामा बस्न बाध्य छन् ।सुनसरीका एसपी पोषराज पोखरेलले प्रहरी काजमा राख्नु बाध्यता भएको बताए । उनले भने, ‘आवश्यकता अनुसार काजमा बसेका छन् ।’ चालक, मुद्दाका प्रहरी र सादा पोशाकका प्रहरीहरु काजमा बस्दैआएको उनले बताए ।
‘काजविना यस्ता फाँटमा सम्भव नै हुँदैन’, उनले भने ।प्रहरी समेत कम भइरहेको अवस्थामा केही प्रहरी कर्मचारी काजमा राख्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो । भने, ‘सुनसरीमा अस्थायी युनिटहरुको माग भइरहँदा दिनसक्ने अवस्था छैन ।’ बिदामा बस्ने, विदेश जाने लगायतका कारण पूर्वमा प्रहरी कम भएको क्षेत्रीय कार्यालयले जनाएको छ । हाल पूर्वमा अरु क्षेत्रमा सरुवा भएका ७९ जना प्रहरी पूर्वमा काजमा बसेका छन् । पूर्वका विभिन्न पहाडी जिल्लामा १ सय ५० जना बाहिर काजमा आउन बाँकी रहेको पूर्व क्षेत्रीय कार्यालयको सूचना शाखाले जनाएको छ ।
असई, सई, हवल्दार पदका जुनियर अफिसरहरु बढी काजमा बस्ने गरेको प्रही तथ्याङ्कले देखाएको छ । पूर्व क्षेत्रमा १२ हजार ९ सय ९ जना दरबन्दीमा १० हजार ९ सय ९ जना प्रहरी कार्यरत् छन् । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी केशरीराज घिमिरेले भने पहिलेको जस्तो काजमा बस्ने प्रहरी नभएपनि बाध्यता र कार्यविभाजनको कारण काजमा राख्नु परेको बताए । सोर्सफोर्समा काजमा बस्ने चलन हराउँदै गएपनि अपराध अनुसन्धान र जोडीमिलन काज गरी करीब ३ सय जना काजमा रहेको उनको भनाइ थियो ।प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ । अधिकाङ्शले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन् । काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।
तर, विकृति हटाउने प्रयास भएको छैन । पहाडी विकट जिल्लाहरुमा नगइ काज मिलाउनेहरुको सङ्ख्या अहिले पनि निकै भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । पूर्वमा सरुवा भएर आउने हरेक डिआईजीले काजको डाटा खोज्ने र काजमा जान निर्देशन दिने काम बाहेक केही नभएको मोरङका एक प्रहरी अधिकृतले नाम नछाप्ने शर्तमा भने ।