धरान/धरान संगीत प्रतिष्ठानले बुधबारबाट औपचारिक रुपमा संगीत प्रशिक्षण केन्द्र सुरु गरेको छ । धरान–९ पुतलीलाइनमा प्रशिक्षण केन्द्र सुरु गरेको हो ।

केन्द्रमा स्वरदेखि संगीतका विभिन्न विधाहरुको बारेमा प्रशिक्षण गराइने केन्द्रका अध्यक्ष मचेन लिम्बूले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार स्वर, किवोर्ड, तबला, ड्रम्स, गिटार, सहनाइलगायतका झण्डै १० वटा बाद्यवादनको तालिम दिइदै छ ।
केन्द्रमा विद्यालयहरुलाई लक्षित गर्दै १५ दिने ‘भ्याकेसन प्याकेज’ दिने तयारी भइरहेको व्यवस्थापक प्रमुख एवम् सल्लाहकार नविन राईले बताए । प्रतिष्ठानद्वारा सञ्चालित केन्द्रको गायक एवं कृपा डिजिटल प्रालिका अध्यक्ष शिव लामिछाने, धरान उपमहानगरपालिकाका सामाजिक विकास शाखा अधिकृत सुनिल नेपाललगायतले उद्घाटन गरे ।
प्रतिष्ठानको उद्देश्य अनुरुप प्रशिक्षण केन्द्र खुलेको बताउँदै धरानमा प्रशिक्षण केन्द्रको आवश्यकतालाई महसुस गरी स्थापना गरिएको अध्यक्ष लिम्बूले बताए । धरान गीतसंगीतको उर्वर भूमीमा प्रशिक्षण केन्द्रले थप सहयोगी भूमिका निर्वाह गर्ने गायक लामिछानेले बताए ।