धरान/मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा शनिबार राति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन्। विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल कदमाह–२ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी भारतीय मोटरसाइकका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु भएको हो। तीनजना सवार सो मोटरसाइकलको पछाडि बसेका कदमाह–६ कै ३० वर्षीय भाग्लु मण्डल, दादरबैरिया–३ की १५ वर्षीया अञ्जना कामत, स्कुटर चालक सोराभाग–८ का ५० वर्षीय रामदेव मण्डल र पछाडि सवार उनका छोरा १७ वर्षीय आचकर मण्डल घाइते भएका छन्। घाइते सबैको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए। रासस