-
Home
-
अर्थ
-
दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा
दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा
काठमाडौँ/दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन्।
विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले समात्ने र कच्ची सडकमा मार्ग इजाजत नदिएका लगायत समस्याले टिकट सुरक्षित गर्ने काम सुरु गर्न नसकेको यातायात व्यवसायी बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनाल व्यवसायीका समस्या समाधान गरी टिकट सुरक्षित गर्न एक साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका अधिकारीबीच वार्ता भएको बताउछन् ।
“काभ्रेपलाञ्चोकको बिर्ता देउरालीमा भएको दुर्घटनापछि कच्ची सडकमा मार्ग इजाजत नलिई सञ्चालन भएका सवारी बन्द गरिए, ती सडकमा अस्थायी मार्ग इजाजत प्रदान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ, जिल्ला प्रशासनले गृहमन्त्रालयबाट निर्देशन नआएको भन्दै अस्थायी ‘रुट परमिट’ नदिँदा टिकट बुकिङ खोल्न सकिएको छैन”–उनले भने ।
धेरै सडक कच्ची भएकाले विभागले अस्थायी मार्ग इजाजत समेत नदिँदा यस वर्षको दसैँमा यात्रुलाई समस्या पर्ने देखिएको गुल्मीबाट काठमाडौँ उपत्यकामा आई व्यवसायी गरिरहेकी सरस्वती ज्ञवालीको गुनासो छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ समस्या समाधान गरी छिटो टिकट सुरक्षित गर्ने काम खोल्ने गृहकार्यमा लागिएको बताउछन् ।
यस वर्ष असोज १५ गते घटस्थापनापछि अधिकांश शैक्षिक संस्था बन्द हुने भएकाले उच्च शिक्षा अध्ययनका लागि राजधानी आएका विद्यार्थी घर फर्कन टिकट खोज्दै नयाँ बसपार्क धाउन थालेका छन् ।
पटक पटक टिकट सुरक्षाका लागि धाउँदा पनि नखुलेको खबर पाउने गरेको भोजपुरबाट आइ राजधानीमा अध्ययनरत एकिन्द्र अधिकारीले गुनासो गरे ।
उपभोक्तावादी संस्थाले भने यातायात व्यवसायीले एकाधिकारका निहुँमा चाडबाडमा बढी भाडा असुल्न खोजेको बताएका छन् । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल व्यवसायी जिम्मेवारी नहुने र सरकारले नियमन गर्न नसक्ने कारणले यात्रु समस्यामा पर्ने गरेको बताउँछन् ।