धरान/नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निर्वतमान परिषद् सदस्य (प्राज्ञ) कर्ण मास्के निमोनियाका कारण बुधबार राति ९ बजे निधन भएको छ ।

उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनकाे निधन भएको हो । निमोनियाका कारण गएको शनिबार अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार निमोनियाकै कारण एकापट्टीको फोेक्सो नै विग्रिएको थियो । उनलाई केहीदिनसम्म आइसियुमासमेत राखिएको थियो भने उपचारको लागि काठमाडौं लान खोजिए पनि अक्सिजनको मात्रा नपुगेपछि उनको देहान्त भएको कलाकार महेन्द्र राईले बताए ।
धरान–४ स्थायी घर भएका उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । उनको तीन छोरी र एक छोरा अमेरिकामा बस्दै आएका थिए । तीनदिन अघि मात्रै छोराछोरी नै धरान आइपुगेका थिए । २०६२/६३ पछि नेपाल प्रज्ञा प्रतिष्ठानलाई छुट्टछुट्टै बनाएपछि ललितकला तर्फ उनी परिषद् सदस्य बनेका थिए । उनी हाल हस्तकला विभाग प्रमुखको रुपमा रहेका थिए । उनले साहित्यकार एवम् कलाकार लैनसिंह बाङ्देलसँग चित्रकलाको बारेमा ज्ञानसमेत लिएका थिए ।
उनले धरानमा २०३७ सालमा युवा कला केन्द्र पूर्वाञ्चल स्थापना गर्दै धरानको चित्रकला क्षेत्रमा जग बसालेका थिए । उनका कयौं कलाकारहरु अहिले धरानमा स्थापित कलाकारको रुपमा रहेको चेलोको रुपमासमेत रहेका कलाकार राईले बताए । संस्थापक अध्यक्षको रुपमा रहेका मास्केको निधनप्रति धरानका कलाकारहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।
सरल मिजासका उनी पूर्वका कलाकारहरुको प्रेरणा र प्रोत्साहनको स्रोत हुन् । पूर्वाञ्चलको अग्रज तथा अभिभावकको रुपमा रहेका उनलाई गुमाउँदाको पीडा व्यक्त गर्न नसकिने कलाकार राईले बताए ।
उनको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बिहीबार श्रद्धाञ्जली कार्यक्रमसमेत राखिएको थियो ।
उनलाई बुढीगंगा इटहरीमा दाहसंस्कार गरिएको छ । उनको असमायिक देहावसानमा ललितकलाका पूर्व कुलपति किरण मानन्धर र वर्तमान कुलपति रागिनी उपाध्यायले समवेदना पत्र पठाउँदै निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।