विराटनगर/विराटनगर १३ तीनटोलीया स्थित एक घरमा युवकलाई काटेर हत्या गरेको घटनामा प्रहरीलाई सफलता मिलेको छ । घटना भएको २४ घण्टा भित्रै हत्यामा संलग्न फरार अभियुक्तहरु र केही सहयोगिहरुसमेत पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीले हत्या अभियोगमा चार जनालाई गरेको छ । पक्राउ परेकामध्ये तीन जनालाई मोरङ प्रहरीले बुधवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । सोमवार राती अभियुक्तहरुले योजना बनाएर अक्सफोर्ड होस्टलका सञ्चालक सुनसरी औरावनी ५ घर भएका १९ वर्षिय विनोद यादवको हत्या गरेको प्रारम्भिक हनुसंद्दानबाट खुलेको छ ।

[caption id="attachment_13134" align="aligncenter" width="700"]hatiyar हत्यामा प्रयोग गरिएका हतियारहरु[/caption]

त्यस हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ओमकार श्रेष्ठको घरमा डेरा बस्ने सिराहा पिपरा ७ का २२ वर्षिय राकेशकुमार यादव, सिराहा सोठिआइन ५ का कृष्णकुमार यादव र सप्तरी महुवा ९ दुधैलाका जितेन्द्र कुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुलाई मंगलवार राती विराटनगर २२ स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । हत्या अभियुक्त जितेन्द्र कुमार साहको १३ वर्षिय भाइलाई पनि प्रहरीले अनुसंधानका लागि नियन्त्रणमा लिएको छ । अभियुक्तहरुले विनोदको हत्या गरेपछि १३ वर्षिय वालकलाई कोठा भित्रै थुनेर बाहिरबाट चावि लागाई फरार भएका थिए । सिराहाबाट पक्राउ परेका सरोज यादवको विषयमा भने प्रहरीले केही बताएका छैन ।प्रहरीले हत्याको कारणबारे केही बताएको छैन । अनुसंद्दान प्रकृया जारी नै रहेको भन्दै अभियुक्तहरुको बयान पछि मात्र तथ्य पत्तालगाउन सकिने प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनुभयो । प्रहरीले सार्वजनिक गरेका तीनै जना अभियुक्त विराटनगरका विभिन्न कलजेमा अध्ययन गर्ने विद्यार्थीहरु हुन् ।

प्रहरीको प्रारम्धिक अनुसंद्दानका क्रममा राकेशकुमार यादव विभिन्न अपराधिक गतिविधिमा संलग्न देखिएको र यस घटनामा पनि मृतक विनोदलाई उनैले होस्टलबाट लिएर गएको खुलेको छ । केही समय रमाइलो गरेर होस्टलमै खाना खाने सर्तमा विनोद राकेशको कोठामा गएका थिए । उनको त्यही हत्या भएको थियो । प्रहरीका अनुसार पहिले उनको हत्या गरेर शव लुकाउने उद्देश्यले पछि टाउको र खुट्टा छुट्टाइएको हुनसक्ने देखिएको छ । हत्यामा संलग्नहरुले शवबाट टाउको र खुट्टा छुट्याएर बोरामा हालेका थिए भने बाँकी शरिरलाई डसनामा बाँधेर अन्त कतै लैजाने योजना बनाएको देखिन्छ । त्यसकालागि उनीहरुले एउटा कट्टि प्रयोगमा ल्याएको फेला परेको छ । सो कट्टि प्रहरीको नियन्त्रणमा छ भने तथा कट्टि दिएर सहयोग गर्नेलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ । त्यस विषयमा भने प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन । प्रहरी उपरीक्षक भण्डारीले यतिमात्रै भनेका छन् कि ‘यो घटनामा हामी अपराध लुकाउन सहयोग गर्नेहरुलाई पनि कानुनको दायरामा ल्याउने छौं त्यसको अनुसंद्दान छिट्टै सम्पन्न हुनेवाला छ ।’

प्रहरीले घटनाका अभियुक्तहरुबाट एक थान नलकटुवा पेस्तोल, कट्टि र आठ थान मोवाइल सेट बरामद गरेको छ । पीडित पक्षबाट जाहेरी लिने काम भइसकेको प्रहरीले जनाएको छ । उनीहरुलाई विहीवार अदालत समक्ष पेश गरी अनुसंद्दान प्रकृया अघि बढाइने प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयो । अनुसंघानकालागि प्रहरीले हत्या भएको कोठालाई शिलवन्दी गरेर राखेको जनाएको छ ।