पाँचथर/ भारतले नेपाली अदुवाको निकासी रोक्दा पूर्वी पहाडि जिल्लाका कृषक र ब्यापारी समस्यामा परेका छन् । अदुवा निकासी हुन नसक्दा पूर्वका पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमका कृषक र ब्यापारी मारमा परेका हुन् । यो समय माऊ अदुवा बिक्री गर्ने सिजन हो । तर एक हप्ता अघि देखि भारत निकासी बन्द भएको नेपाली अदुवा गोदामै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । यतिबेला माऊ अदुवा बिक्री गर्ने सिजन हो । तर किसानले माऊ अदुवा बिक्री नगर्दै भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि कृषक र ब्यापारी चिन्तित बनेका छन् ।

aduwa

यसपल्टको माऊ अदुवा निकाले पनि बिक्री गर्न समस्या भएको पाँचथर चोकमागुका कृषक दीपक श्रेष्ठले बताए । त्यस्तै एक महीना अघि लिएको अदुवा निर्यात नहुँदा घाटा ब्याहोर्नुपर्ने अवस्था आएको व्यवसायी चन्द्र बस्नेतले बताए । कृषक सँग लिएको अदुवा कुहिएर जान लागेको भन्दै बस्नेतले निर्यातका लागि सहज वातावरण बनाइदिन सम्बन्धित निकाय सँग आग्रह गरे ।हानिकारक विषादीको मात्र अत्याधिक भएको चिनिया अदुवा नेपाल हुँदै भारत पुग्ने गरेको भन्दै भारतीय पक्षले नेपाली अदुवा निर्यातमा रोक लगाएको व्यवसायीको भनाई छ । अहिले नेपाली अदुवा गोदममा थन्किएको छ । भारतले अदुवा निकासी बन्द गर्दा किसान र व्यापारीको करोडौं रुपैयाँ डुब्ने भएको छ । नेपालको पूर्वी पहाडको अदुवा भारतीय बजार नक्साल, सिलिगुढी र बैंग्लोर निर्यात हुने गरेको छ ।जिल्ला कृषि विकास कार्यालय पाँचथरका अनुसार पाँचथर, ताप्लेजुङ, इलाम र झापामा मात्रै ३ हजार ७ सय ७० हेक्टरभन्दा बढी जमिनमा अदुवा खेती गरिंदै आएको छ । यहाँको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन रहेको छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ३१ प्रतिशत पूर्वका जिल्लाहरुमा उत्पादन हुने तथ्याङ्कले देखाएको छ ।