chor

बिर्तामोड/ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडले १५ वटा चोरीका मोटरसाईकल सहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । बिर्तामोडमा मोटरसाइकल चोरीका घटनामा बृद्धी भएको उजुरी आउन थालेपछि मिसन बनाएर खटेको प्रहरी टोलीले एकसाताको अवधिमा मोटरसाइकल सहित चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले थालेको बिशेष अप्रेसनमा चोरीमा संलग्न गिरोह नै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए । प्रहरीले बिर्तामोड, भद्रप्र, गरामनी लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चन्द्रगढीका अशोक राजबंशी, बितामोडका सईदुल शेख, भारतको सिलिगुडीका जिबन राजबंशी, भारतको गलगलियाका मोहमद सईदुन, हल्दिवारी झापाका राम भारती र भद्रपुरका दिपक राय रहेका छन् । राजबंशीद्वय, शेख र साईदुनले मोटरसाइकल पहिचान गर्ने, ह्याण्डल लक गरेको भए फुटाउने र भद्रपुरमा बस्ने रायको गोदाममा पु¥याउने गरेको पाइएको मोटरसाइल चोरीको घटनाको अनुसंधान गर्न प्रहरीले गठन गरेको टोलीका प्रमुख इन्स्पेक्टर मधुकुमार थापाले बताए ।

रायले चोरी भएका मोटरसाइकल हल्दिवारीका भारतीलाई दिने र भारतीले बिक्रि गर्ने गरेको पाईएको उनले बताए । बिर्तामोडबाट चोरी भएका मोटरसाइकलमा बाग्मती, नारायणी र कोशीको नम्बर प्लेट लगाएर बिक्रि गर्ने गरेको बिर्तामोडका डिएसपी खड्कबहादुर खत्रीले बताए । उनले झापा जिल्लामा बिर्तामोडबाट सबैभन्दा धेरै मोटरसाइकलहरु चोरी हुने भएको उजुरी पर्न थालेपछि बिशेष टोली बनाएर खोजतलास गरिएको जानकारी दिए । सबैभन्दा धेरै पल्सर मोटरसाइकल चोरी भएको पाइएको छ, डिएसपी खत्रीले भने–‘बिशेष गरी बिहान ३ बजेदेखि ५ बजेसम्म र साँझको समयमा बढीजसो मोटरसाइकल हराएको पाइएको छ ।’

उनले चाडपर्व नजिकिएसँगै यस्ता घटना बढ्ने हुनाले सजग रहन सबैलाई आग्रह गरेका छन् । प्रहरीले पक्राउ गरेकामध्ये ७ वटा मोटरसाइकल धनी फेला परेको ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए । अन्य आठवटा मोटरसाइकलको सवारी धनी नखुलेको उनले बताए । पक्राउ परेका गिरोहका अन्य सदस्यको खोजी जारी रहेको प्रहरीले प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि झापा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसंधान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै घर निर्माणमा मजदुरको काम गर्नेहरु हुन् ।