सङ्खुवासभा/पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने एक पेट्रोल पम्प सञ्चालकलाई सङ्खुवासभा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ ।खाँदबारी नगरपालिका–१२ ढुङ्गे बिसौनीस्थित यशोदा पेट्रोल पम्पका सञ्चालक सोही नगरपालिका–१२ का उत्तमकुमार कटुवाललाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत प्रहरीले कारवाही थालेको हो ।

जिल्लामा प्रतिलिटर १०२ रुपैयाँ ६५ पैसा पर्ने पेट्रोलको कृत्रिम अभाव सिर्जना गरी प्रतिलिटर ११० रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा कटुवाललाई सोमबार पक्राउ गरिएको थियो ।प्लास्टिकका तीनवटा ड्रम र एउटा जर्किनमा लुकाइराखेको अवस्थामा ४६१ लिटर पेट्रोलसमेत प्रहरीले कटुवालको पम्पबाट बरामद गरेको छ ।

पम्प सञ्चालक कटुवाललाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।