भद्रपुर/झापाको देवनिया नदीमा पक्की पुल निर्माण शुरु भएको वर्षौं बितिसक्दासमेत पुल नबनेका कारण स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । झापाको भद्रपुर नगरपालिका–१५ र हल्दीबारी–१ को बीचमा रहेको देवनिया नदीमा ठेकेदारले पुल निर्माणमा ढिलाइ गरेपछि स्थानीयको आवागमनमा समस्या भएको हो ।
हल्दीबारीका १, ३, ९ लगायतका वडा तथा जलथल र राजगढ गाविसका जनतालाई चन्द्रगढी जान समस्या भएको हल्दीबारी–९ का गजेन्द्र ढकालले गुनासो गरे । दैनिक जोखिमपूर्ण यात्राले मानसिक तनाव भएकाले तत्काल पुल निर्माण सम्पन्न हुनुपर्ने उनले माग गरे । पुल नभएका कारण सदरमुकाम पुग्न नौ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको उनको भनाइ छ । पुल अभावले समयमा उपचार गर्न नपाएको सो क्षेत्रका स्थानीयले गुनासो गरे । हल्दीबारीका जनतालाई दृष्टिगत गर्दै गाविसले प्लाष्टिकका नौवटा ड्रमबाट निर्मित एक फेरि सञ्चालनमा ल्याएको छ । गाविसको ४० हजार रुपैयाँ लागतमा अस्थायी फेरी निर्माण गरी गत असार २९ गतेदेखि सञ्चालन गरिएको हल्दीबारी गाविस सचिव कुमोदचन्द्र झाले बताए । फेरी ञ्चालनमा मनु राजवंशी, डोलो, हेमानन्द, सुशील, बुधे र काशीनाथलाई फेरी चलेको दिन काम हेरी प्रतिव्यक्ति अधिकतम १ हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको सचिव झाले बताए । पुल नभएकाले फेरीबाट जोखिम मोलेर मान्छेलगायत सामान तार्नुपरेको कामदार डोलोले बताए । एकपटक वारिपारि गराउन कम्तीमा चारजना मान्छे आवश्यक पर्ने उनले बताए । फेरी प्रयोग गरेबापत प्रतिमान्छे १० र मोटरसाइकललाई ५० रुपैयाँ लिने गरिएको छ भने विद्यार्थी, वृद्धवृद्धा र बालबालिकालाई निःशुल्क सेवा दिने गरिएको डोलोले बताए । फेरी सञ्चालनको अवधारणा ल्याएका भद्रपुर–१५ का हरिप्रसाद ओलीको प्राविधिक सल्लाहबमोजिम फेरी चलाउन शुरु गरिएको सचिव झाले बताए ।
ओलीले भने फेरी आप्mनो जिम्मामा रहेको भन्दै उठेको केही रकम कामदारलाई दिएर बाँकी व्यक्तिगत बनाएको खुलासा भएको छ । भदौ १६ गते एकै दिन उठेको १० हजार ७ सयमध्ये सातजना कामदारलाई प्रतिव्यक्ति ७ सयका दरले दिई बाँकी रकम ओलीले लगेको कामदार डोलोले बताए । अन्य दिन पनि दिनभरि बस्ने र साँझमा हिसाब मिलाएपछि उनले बाँकी रकम लैजाने गरेको उनीहरुको भनाइ छ । नदीबाट उठेको रकममध्ये केही कामदारलाई दिई बाँकी गाविसलाई नवुझाइएको गुनासो आएपछि समस्या उत्पन्न भएको सचिव झाले बताए । आम्दानीको उद्देश्य नराखी स्थानीयको सहजताका लागि फेरी सञ्चालनमा ल्याइएको उनले बताए तर यति ठूलो रकम उठ्छ भन्ने आपूmले नसोचेको उनको भनाइ छ । यो विषयमा गुनासो आएसँगै आपूmले ओलीलाई हालसम्म उठाएको रकम कार्यालयमा बुझाउन जानकारी गराइसकेको झाले बताए । रकम नबुझाएमा कानूनी कारवाही गरिने उनको भनाइ छ । यस विषयमा बुभ्mन पटक–पटक फोन गर्दा पनि ओलीसँग सम्पर्क हुन सकेन ।