धरान/नेपाल रेडक्रस सोसाइटी सुनसरीले ‘राष्ट्रिय रेडक्रस दिवस’ को अवसरमा विविध कार्यक्रम गरेको छ ।

रेडक्रस सुनसरीले अाइतबार यहाँ सयजना बालबालिकाहरुको लागि कपडा वितरण गरेको छ । उक्त कपडा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वितरण गर्ने गरी प्रदान गरेको छ । यस्तै सुनसरीमा सबैभन्दा बढी रक्तदान गर्ने संस्था र व्यक्तिहरुलाई प्रमाण पत्रले सम्मानित गरिएको छ । सुनसरीमा यसपटक सबैभन्दा बढी रक्तदान गर्ने संस्था नेवार एकता समाज र बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिलाई प्रमाण पत्र दिइएको छ ।
त्यस्तै व्यक्तितर्फ भोलेश्वर दुलाल, जनक खड्का, बाबुराम प्रधान, मेहरलाल श्रेष्ठ र राजु थापालाई प्रमाण पत्र दिइएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसपी पवनप्रसाद खरेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. पशुपति चौधरी, रेडक्रस सभापति उमेश थापालगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा रेडक्रसको झण्डात्तोलनसमेत गरिएको थियो । रेडक्रसका उत्कृष्ट पाँचजना कर्मचारीहरुलाईसमेत सम्मानित गरिएको थियो । रेडक्रसले देशभरी ३ लाख १० हजार युनिट रगत संकलन गर्दै मानवीय सेवामा प्रवाह गर्ने गरेको छ । पूर्व सभापति टोमप्रसाद आचार्यले धरान रेडक्रस २०२८ सालमा स्थापना भएको बताउँदै रेडक्रसले सेवामूलक, चेनतामूलक, विकास मूलक कार्यहरु गरिरहेको बताए । कार्यक्रमको सञ्चालन मन्त्री मुकुल कायस्थले गरेका थिए ।