विजयपुर/जुम्लाका कृष्ण धामी शुक्रबार धरानको भानुचोकमा सवारी पार्किङ शुल्क उठाउँदै गर्दा भेटिए । बिहीबारसम्म बेरोजगार उनी शुक्रबारबाट रोजगारमा लागेका छन् । बहिरा (सुन्न र बोल्न नसक्ने) उनी जागिर पाएकोमा मक्ख छन् । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ का लागि लगाएको सवारी पार्किङको शुल्क उठाउने काममा धामी लागिपरेका छन् । उनीजस्तै धरानकी मिना श्रेष्ठ पनि सवारी पार्किङ शुल्क उठाउँदै थिइन् । आप्mना सहयोगीमार्फत उनले भनिन्, ‘हाम्रो बोली आउँदैन र अरुले बोलेको हामी सुन्दैनौँ तर पनि हामीले जागिर पाएका छौँ, साह्रै खुसी लागेको छ ।’

bahira

अहिले उपमहानगर क्षेत्रमा सवारी पार्किङ शुल्क उठाउन ठेक्का पाएको जनमत केशरी निर्माण सेवाले चारजना बहिरा कर्मचारी परिचालन गरेको छ । बोल्न र सुन्न नसक्ने उनीहरुलाई पनि आत्मनिर्भर बनाउन आफुहरुले नियुक्त गरेको जनमत केशरीकी प्रतिनिधि हिमाल राईले जनाइन् । चारजना बहिराको नेतृत्व सुनसरी बहिरा सङ्घका महासचिव तथा सुनसरी क्रिकेट सङ्घका उपाध्यक्ष सुजन श्रेष्ठले गरेका छन् ।उपमहानगरपालिकाले तोकेका ठाउँहरुमा उनीहरुलाई परिचालन गरिने कम्पनी प्रतिनिधि राईले बताइन् । उनीहरुलाई कम्पनीले पोशाक र परिचयपत्र उपलब्ध गराएको छ । सवारी पार्किङ शुल्क उठाउन ठूलो झण्झट नभएकाले भिन्न क्षमता भएकाहरुलाई राखिएको राईको भनाइ छ । उनका अनुसार अहिले श्रेष्ठको नेतृत्वमा जुम्लाका धामी, धरानकी श्रेष्ठ र इटहरीकी बन्दना श्रेष्ठ काममा खटिएका छन् । कम्पनीले उनीहरुलाई दैनिक तीन घण्टा काम गरेबापत मासिक ५ हजार तलब दिने सम्झौता गरेको छ ।

दैनिक ५० रुपैयाँ भत्ता तथा सार्वजनिक बिदा र साप्ताहिक बिदाको दिन सङ्कलित रकमको २० प्रतिशत अतिरिक्त भत्ता पनि पाउनेछन् ।सुनसरी बहिरा सङ्घको कार्यालयबाट कार्यस्थलसम्म ल्याउने र सङ्घमा पु¥याउने जिम्मेवारी कम्पनीले लिएको छ । अघिल्ला वर्षहरुमा जथाभावी उठाइने सवारी पार्किङ शुल्क यस वर्षबाट व्यवस्थित रुपमा सङ्कलन गर्न थालेको जनाउँदै कम्पनी प्रतिनिधि राईले पार्किङ शुल्क बुझाएर उपमहानगरपालिकालाई सहयोग र बहिराहरुलाई हौसला दिन सवारी चालक तथा धनीहरुलाई आग्रह गरिन् ।सुनसरी बहिरा सङ्घका महासचिवसमेत रहेका टिम लिडर श्रेष्ठले आफुहरुलाई आत्मनिर्भर बन्न सहयोग र हौसला मिलेकोमा खुसी व्यक्त गरे ।

उपमहानगरपालिकाका वरिष्ठ कर अधिकृत खगेन्द्र खतिवडाले भिन्न क्षमता भएकाहरुलाई सुहाउँदो रोजगारी दिनु सराहनीय भएको बताउँदै पार्किङ शुल्क बुझाएर उपमहानगरपालिकालाई सहयोग गर्न आग्रह गरे । रोजगारी दिँदा उनीहरुमा आत्मविश्वास बढ्ने उनले बताए ।