पाँचथर/तप्प तप्प जलविन्दु, चुहाएर के निस्कियो, कोमल कञ्चन स्निग्ध आहा, नुहाएर के निस्कियो । १५० औं मोतीजयन्तीको अवशरमा बिहीबार फिदिममा आयोजित कार्यक्रममा गजलकार प्रकट पंगेनी शिव यसरी माइक्रफोन अगाडि उभिदा कार्यक्रममा उपस्थित पाँचथरे गजल पारखीले जोडले ताली बजाइरहे । prakat photo पाँचथर गजल मञ्चले हरेक वर्ष मोतीजयन्तीको दिन वितरण गर्दै आएको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ को चौंथो संस्करणबाट पुरस्कृत प्रकटले एक दर्जन आफ्ना लोकप्रिय गजल सुनाएर पाँचथरेको माया बटुले । खास गरी श्रृङ्गारिक गजलमा मज्जाले खुले प्रकट । उनले सुनाए– हातमा समाइ उनलाई खोला, तार्नुको मज्जा बेग्लै थियो, साडीको फेर अलि माथि, सार्नुको मज्जा बेग्लै थियो ।      वारिबाट पारिसम्म, छोंटो बाटो भए पनि,      आलेटाले गर्दै बेला, टार्नुको मज्जा बेग्लै थियो । देउराली कास्कीका गजलकार प्रकटलाई विशेष समारोहकाबीच कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम न्यौपाने परिश्रमीले दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कार वितरण गरेका थिए । पुरस्कारले आफूमा थप जिम्मेवारी थपिएको महशुस गरेको प्रकटले सुनाए । गजल मञ्च पाँचथरका संस्थापक अध्यक्ष मधु ‘आजित’ केरुङ र चलचित्रकर्मी सागर केरुङ लगायत परिवारले आफ्ना स्वर्गिय पिता ऐतराज केरुङको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कारको राशी सम्मान पत्र सहित ५ हजार ५ सय ५५ रुपैंयाँ रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.घनश्याम न्यौपाने परिश्रमिले नेपाली गजल लेखन अहिले शशक्त बन्दै गएको बताए । कार्यक्रममा प्र्रेम ओझा, सुन्दर कुरुप, सगुन सुसारा, कृष्ण उदासी, राज कुमार अनिश्चित लगायत मेची–कोशी अञ्चलका करीव २ दर्जन गजलकारले गजल सुनाए । मेची–कोशी गजल प्रतियोगितामा इश्वर प्रथम  १५० औं मोतीजयन्तीकै अवशरमा जिल्लामै पहिलोपल्ट आयोजना गरिएको मेची–कोशी गजल प्रतियोगितामा धनकुटाका गजलकार इश्वर दाहाल प्रथम भएका छन् । प्रतियोगितामा झापाका बिनोद चौहान द्धितिय, मोरङका युवराज काफ्ले त्रितिय र धनकुटाका अनन्त अनुराग सान्तवना भए । विजयी प्रतियोगिले क्रमशः प्रमाण पत्र सहित नगद ८ हजार, ६ हजार, ५ हजार र ३ हजार प्राप्त गरेका छन् । त्यस्तै शीर्ष १० मा पर्न सफल गजलकारलाई पनि प्रमाण पत्र र पुरस्कार प्रदान गरियो । प्रतियोगिताको शीर्ष १० मा भोजपुरका प्रिन्स याक्खा, झापाका कल्पना आचार्य, मोरङका टीका खड्का, पाँचथरका निलम निश्चल याक्थुङ्बा, कृष्ण परदेशी र बिक्रम पारखी छनौंट भएका थिए । कार्यक्रममा विजयी गजलकारहरुले आ–आफ्नो गजल वाचन गरेका थिए । प्रतियोगितामा मेची र कोशी अञ्चलका ७० जना गजलकारहरुको सहभागिता रहेको गजल मञ्च पाँचथरका सचिव कुबेर मृदुलले बताए ।