भोजपुर/भोजपुरे करुवा लगायतका विभिन्न भाँडा उत्पादन हुने प्रसिद्ध ठाउँको रुपमा परिचित भोजपुरको पुरानो टक्सार बजार अहिले सुनसान भएको छ ।

सीपको अभावमा युवाले भाँडा बनाउने पेसालाई निरन्तरता दिन सकेका छैनन् भने पुराना उद्योगी घर रित्तै छोडेर काठमाडौँ, धरान लगायतका अन्य बजारमा गएका कारण यहाँको भाँडा उद्योग सङ्कटमा पर्दै गएको हो ।
टक्सारमा उत्पादित करुवा, थाल, गाग्री, बटुका, फोसी लगायतका भाँडाकुँडा जिल्ला र जिल्लाबाहिरका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरिएको भएपनि अहिले उद्योग नै बन्द हुने अवस्थामा रहेको स्थानीयवासी विराज शाक्यको भनाइ छ ।
भोजपुरे करुवाले छुट्टै पहिचान बनाएको भएपनि सीप र कामदारको अभावमा हाल भने भोजपुरे करुवा उत्पादन नभएको बताइन्छ । भाँडा उद्योग प्रवद्र्धन गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासीको भनाइ छ । रासस