itari इटहरी/असार दोश्रो हप्ता व्यापारीहरुको चुनावी सरगर्मी बढिरहेको बेला उद्योग वाणिज्य संघ इटहरीको एउटा मुद्दा दुवै प्यानलले उठाएको थियो । त्यो मुद्दा हो–इटहरीको मध्य बजारलाई राति समेत सञ्चालन गर्ने । उवासंघको चुनावी माहोलताका चर्चामा आएको यो मुद्दा लिलम बस्नेत प्यानलको बर्चस्व रहेको नयाँ कार्यसमितिले आएको डेढ महिनामा पनि यो विषयमा काम थालेको छैन । इटहरी बजार रातिसम्म खुलाउने भनेर भोट हालेका व्यापारीहरु भने नयाँ उवासंघ कार्यसमितिबाट बजार चाँडो खुलाइयोस् भन्ने पक्षमा छन् । तर यो त्यति सजिलो विषय भने देखिँदैन ।इटहरीमा राति अबेरसम्म बजार खुलोस् भन्ने पक्षमा यहाँका व्यवसायी र सर्वसाधारण छन् । इटहरीको धरान लाइनमा रहेको सुमेरु होटलका सञ्चालक अर्जुन शर्मा इटहरीको मध्य बजार २४ सै घण्टा सञ्चालन हुनुपर्छ भन्ने पक्षमा छन् । लिलम बस्नेत प्यानल घोषणा सभामा यही मत राखेका शर्मा २४ घण्टै नमिले पनि राति अबेरसम्म खोल्नुपर्छ भन्ने पक्षमा छन् । यता, धरान लाइनकै स्काइ प्लाजास्थित सिद्धकाली फास्ट फुड क्याफेका सञ्चालक राजन शर्मा समेत इटहरी जस्तो पूर्वको ‘ट्रान्जिट’ सहरमा राति अबेरसम्म पेशा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मत राख्छन् । शर्मा प्रश्न गर्छन्, ‘इटहरीबाट काठमाडौको लागि गाडी छुटेपछि आउने हरेकजसो स्टेण्डहरुमा राति अबेरसम्म पेशा व्यवसाय सञ्चालन हुन्छ तर इटहरीमा किन हुन्नँ ?’शर्माकाअनुसार पूर्वका धरान, विराटनगर र पूर्व जाने रात्री बसहरुका यात्रुहरु मध्यरातमा इटहरीमा रोकिँदा पनि सेवा सुविधा नपाउनु दुःखद् कुरा हो । होटल व्यवसायीहरु शर्माद्वय मात्रै हैन इटहरी चौकमा चाट र चटपटे बेच्ने साना व्यवसायीहरु समेत रात्रीकालीन इटहरी बजार चल्नुपर्छ भन्ने पक्षमा छन् । इटहरी नजिकैको सुन्दरदुलारी बस्ने बाबुराम भट्टराई पनि इटहरी ठूलो बजार भएकोले दिनभरी काम सकेर रात्रीकालीन सपिङ गर्न चाहँदा सुविधा उपलब्ध हुनुपर्ने बताउँछन् । ‘इटहरीमा रात्री बजार नहँुदा यो सहर जस्तै हुन्न,’ इटहरीमै आफ्ना दैनिक सामाग्री खरिद गर्ने भट्टराई भन्छन्, ‘सिसी टिभी क्यामेरा र कडा सुरक्षा हँदाहँुदै इटहरी बेलुका सम्म खुल्नुपथ्र्यो तर त्यसो भएन ।’ सुरक्षा चाहन्छन् व्यापारीहरु इटहरीमा पूर्वकै ठूलो सशस्त्र प्रहरी बलको कार्यालय छ । नेपाली सेनाको पूर्वी पृतना समेत इटहरीमै छ । ट्राफिक प्रहरीको पनि पूर्व क्षेत्रीय कार्यालय इटहरीमै छ । इटहरी मध्य बजारमै नेपाल प्रहरीको इलाका कार्यालय रहेको छ । यस्तो हुँदा हुँदै किन इटहरी खुल्दैन ? सुरक्षा निकायहरुको राम्रो उपस्थिती भएर पनि इटहरी रातको समयमा खुल्न सकिरहेको छैन । स्वयं व्यापारीहरु समेत रात्री बजार खोल्ने पक्षमा रहेका बेलामा व्यवसायीहरुलाई के सुरक्षाको डर छ ? चाडवाडको माहोल समेत नजिकिँदैछ । व्यापारको मौसम नजिकै आउँदैछ । तर पनि किन बजार खुल्दैन ? यस प्रश्नको जवाफमा उवासंघका कार्यवाहक अध्यक्ष शैलेश विष्ट भन्छन्, ‘मैले आजै मात्रै इटहरीका नयाँ डिएसपी साहेवसँग कुरा गरेको छु, प्रहरीको सहयोगमा हामी राती अबेरसम्म बजार खुलाउने पक्षमा छौं ।’ उवासंघ अध्यक्ष लिलम बस्नेत कलकत्तामा भएको अवस्थामा कार्यवाहक अध्यक्ष रहेका उवासंघ इटहरीका वरिष्ठ उपाध्यक्ष विष्टले अब इटहरी बजार राति अलिक लामो समय चलाउने पहल सुरु भइसकेको बताउँछन् । राति अबेरसम्म बजार खुलाउन सुरक्षा निकायको प्रभावकारी उपस्थिती आवश्यक पर्छ भने व्यवसायीहरुको जागरुकता र लगानी पनि चाहिन्छ । आफ्नो पसलमा सिसिटिभी क्यामेरा जडान गर्न नै धेरै व्यवसायी लोभ गर्छन् । जबकी यो अहिले सुरक्षाको लागि निकै महत्वपूर्ण उपकरण बनिसकेको छ । पसलमा भइरहेको गतिविधिबारे घरमै बसेर अवलोकन गर्न सकिन्छ ।रातको समय व्यापार व्यवसायको लागि असुरक्षित नै हुन्छ । राति व्यापार व्यवसाय सञ्चालन गर्नुपर्दा विद्युत्को आवश्यकता हुन्छ । उद्योग वाणिज्य संघ आफैले पनि सोलार सडक बत्तीको व्यवस्था गर्न सभासद् रेवतीरमण भण्डारीसँग मिलेर काम अघि बढाइसकेको छ । जसको लागि समिति बनेर पहिलो किस्ता समेत प्राप्त भइसकेको छ । अध्यारो रातमा रात्रीकालीन व्यापार फस्टाउन नसक्ने हुँदा चौबिसै घण्टा विद्युत् अनिवार्य शर्त हो । त्यसका साथै सिसिटिभी क्यामेरा व्यापारीका साथै स्थानीय निकाय र सुरक्षा निकायले पनि सोलार बत्तिसँग सँगै राख्नुपर्छ । त्यस्तै, व्यापारीलाई समस्या परिहालेमा प्रहरीलाई खबर गर्ने प्रविधिसमेत जडान गर्नुपर्छ । उपमहानगरको मजदुर सुविधा र सुरक्षा चासो इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना इटहरी बजार रातिसम्म चल्नुमा आफ्नो विमती नहुने बताउँछन् । भन्छन्, ‘यदि पसलमा काम गर्ने मजदरुरहरुको श्रमशोषण हुन्न र सुरक्षा निकायहरुले सुरक्षाको प्रत्याभूति दिनुहुन्छ भने नगरपालिका बजार खुलाउन बाधक हुन्न ।’ हाल काठमाण्डौमा रहेका अधिकृत तिम्सिनाले स्थानीयवासी, व्यापारी र सुरक्षा निकायले सम्भव देखेका इटहरीको रात्री बजार चल्न सक्ने बताउँछन् । व्यापार व्यवसायमा काम गर्ने मजदुरको स्वास्थ्य र आराम मिल्ने वातावरण बन्छ र सुरक्षा हुन्छ भने रात्री बजार चलाउन सकिने तिम्सिनाको तर्क छ । सुरक्षा निकाय भन्छ–बजार मर्यादित हुनुपर्छ इलाका प्रहरी कार्यालय इटहरीमा हालसालै आएका डिएसपी नरेशराज सुवेदी इटहरी बजार रात्री कालमा खुलाउनु अगाडी किन खुलाउने भन्ने कुरामा प्रष्ट हुनुपर्ने तर्क गर्छन् । ‘कसैले आचरण विपरीत व्यवसाय गर्न खोज्छ भने त्यो गलत हो, ‘इटहरीमा बद्नाम कमाएको यौन व्यवसायलाई लक्षित गर्दै सुवेदी भन्छन्, ‘मर्यादामा रहेर व्यवशाय हुनुप¥यो, रातभरि कस्तो व्यवसाय गर्ने भन्ने बारेमा पनि पहिले मूल्यांकन हुनुप¥यो ।’समाजको आवश्यकता समेत हेरेर पेशा व्यवसाय गर्नुपर्ने बताएका डिएसपी भन्छन्, ‘बजार सुरक्षित र मर्यादित भएको खण्डमा २४ घण्टा खुल्न सक्छ तर पहिले नागरिक स्थरमा सचेतना आउनुपर्छ ।’ प्रहरीको सुरक्षाभन्दा पनि रात्रीकालीन व्यवसाय गर्दा जनस्थरमा कस्तो सहजता हुन्छ हँदैन त्यस्ता कुरालाई ख्याल गरेर मात्रै रात्री बजार चलाउन सकिने डिएसपी सुवेदीको तर्क छ । ‘हाम्रा युवाहरुमा राती डिस्कोमा जानुपर्छ, होटलमा जानुपर्छ भन्ने सोच हुन सक्छ र त्यो नराम्रो नहोला,’ सुवेदी थप्छन्, ‘तर होटलमा मर्यादित हुनुपर्छ, अनुशासित हुनुपर्छ र लुटपाट, गुण्डागर्दी गर्नुहुन्न भन्ने पनि त सोच विकास हुनुप¥यो नि त ।’