शनिश्चरे/ एघार दिनको बीचमा तीनवटा हत्याका घटना भए । कसले कतिखेर कुन झोंकमा कसलाई आक्रमण गर्छ भन्ने त्रास नगरवासीमा बढिरहेको छ ।मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा बढेको हत्याजस्तो जघन्य अपराधबाट स्थानीयवासी त्रसित बन्दै नगर क्षेत्रको शान्ति सुव्यवस्था कायम गर्न माग गरिरहेका छन् । ‘कसले कसलाई कुनरुपमा हेरिरहेको हुन्छ र मौका पर्नासाथ आक्रमण गरेर ज्यानै लिने अवस्थाका घटना बढेपछि त्रास बढेको छ । नगरको सुरक्षा व्यवस्था फितलो हुँदा यसखाले अपराध बढ्ने मौका मिलेको छ ।

‘प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा गर्नुपर्ने हाम्रो माग छ’, पथरीशनिश्चरे–१० की मीना पौडेलले भनिन् ।उनी रहेकै वडामा दुईवटा महिला हत्याका घटना भएका छन् । जुन ठाउँ बाक्लो बस्ती भएको शनिश्चरे बजार क्षेत्र हो । गत साउन २९ गते नगर विकास समितिका अध्यक्ष पर्शुराम कार्कीकी बुहारी पथरीशनिश्चरे–१० की २१ वर्षीया समीक्षा कार्कीको आप्mनै घरमा छुरा प्रहार गरी हत्या भएको थियो । कार्कीको घरमा आएर पथरीशनिशश्चिरे–११ का वर्ष ३१ का दिलीप घतानीले छुरा प्रहार गरी कार्कीको हत्या गरेका थिए । त्यसको तीन दिनपछि साउन ३२ गते सोही वडामा सिकाई व्यवसाय सञ्चालन गर्ने स्थानीय ४७ वर्षीय विनोद परियारले ३९ वर्षीया श्रीमती कल्पनाको कैंची प्रहार गरेर हत्या गरेका थिए । हत्याको श्रृङ्खला जारी रहेको अवस्थामा त्यसको एक सातापछि भदौ ८ गते वडा नम्बर १ स्थित पथरी बजारका २५ वर्षीय गोविन्द दर्नालको हत्या भएको थियो ।
वडा नम्बर १० को प्रहरी चौकी कुशे र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको बीचभागमा दुईवटा हत्याका घटना भए । कार्कीको हत्या प्रहरी चौकीको करीब सय मिटर दूरीमा र परियारको हत्या सशस्त्र बेस क्याम्पको करीब ३ सय मिटर नजिकै भएको थियो । दर्नालको हत्या पनि सशस्त्र बेस क्याम्प भूटानी शरणार्थी शिविरनजिकै भएको थियो । सुरक्षा दिने कार्यालयकै आसपासका क्षेत्रमा यसखाले हत्याका श्रृङ्खला बढेपछि स्थानीयमा सुरक्षाकर्मीको खिल्ली उडाएर सुरक्षाको चुनौती दिएको पथरी बहुमुखी क्याम्पसका अध्यक्ष मोहनकुमार न्यौपानेले टिप्पणी गरे ।नगर क्षेत्रमा पथरीमा इलाका प्रहरी कार्यालय, पथरीमै नेपाल प्रहरी बेस क्याम्प, शनिश्चरेमा प्रहरी चौकी, शरणार्थी शिविर र शनिश्चरेमा सशस्त्रको बेस क्याम्प नगरको सुरक्षाका लागि आवश्यक मात्राका निकाय हुन् । तर ती निकायको सक्रिय प्रभाव भने जनताले महसूस गर्न पाएका छैनन् ।
अझ यी सबै निकायको अगुवा इलाका प्रहरी कार्यालयको अगुवाई झनै कमजोर भएको ठहर गर्छन् लायन्स क्लब अफ पथरीका अध्यक्ष तुलसी ढकाल ।नगरमा असुरक्षा बढेपछि कुशल चौकमा अस्थायी प्रहरी पोष्ट राख्न स्थानीयले हस्ताक्षरसहित इलाका प्रहरी कार्यालयमा माग गरेका छन् । कार्यालयले जिल्ला प्रहरी कार्यालयमा सोको जानकारी पठाइएको इलाका प्रहरी प्रमुख रमेश बस्नेतले बताए । वडा नम्बर–४ को पीपलचोकमा पनि अस्थायी विटको माग स्थानीयले उठाइरहेको वडा महिला समूहकी सचिव राधिका गौतमले बताइन् । त्यहाँ र त्यस आसपासका ग्रामीण क्षेत्रको सुरक्षाको सवाल समेत राखेर सामाजिक सुरक्षा समिति र वडा नागरिक मञ्चले नागरिक सुनुवाई गरेको छ । प्रहरी चौकी कुशेमार्पmत् शनिश्चरे चोकमा ड्युटी पोष्ट राख्ने निर्णय भइसकेको छ । नगर क्षेत्रमा सुरक्षा निकायको सुरक्षा निगरानी फितलो हुनासाथ आपराधिक गतिविधि गर्नेहरुले टाउको उठाइहाल्ने गरेको देखिन्छ ।
पथरी बजारमा डुलीहिँड्ने मानसिक सन्तुलन कमजोर भएकी हसन्दह–३ की ४५ वर्षीया रमा बराल राईको ०७२ साउन १७ गते राति बजारको पीपलचोकमा हत्या भएको थियो । अर्की मानसिक सन्तुलन कमजोर भएकी माला भनेर चिनिने महिलामाथि पनि तीन महिनाअघि राति धारिलो हतियारमार्पmत् साङ्घातिक आक्रमणमा भएको थियो । तर उनी बालबाल बाँचेकी छन् । यी दुवै घटनाका अभियुक्तलाई हालसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।पथरीको इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीको हो । ‘यसलाई डीएसपीकै नेतृत्वमा थप जनशक्ति थपेर दरबन्दीको स्तरोन्नति गरी सुरक्षा व्यवस्था मजबुत पार्न आवश्यक रहेको छ’, हत्याको घटनाका पीडितमध्येका नगर विकास समिति अध्यक्ष पर्शुराम कार्कीको धारणा छ । डीएसपीको दरवन्दी मागका लागि कार्यालयले सर्वपक्षीय भेला गराएर छलफल गराउने पथरीशनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले बनाए ।