शनिश्चरे/२ दशक अघिदेखि पत्रकारिता, साहित्य र रंगमञ्चमा सक्रिय भूपेन्द्र तिम्सिना सहित मोरङको पथरीशनिश्चरेका ५ जना सामाजिक अगुवालाई मंगलबार पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ ।
क्याम्पसको नवौं स्थापना दिवशका अवसरमा मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राई तथा प्रदिपकुमार राईले तिम्सिनालाई क्यामेरा प्रदान गर्दै दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका छन् । पत्रकारिता र रंगमञ्च क्षेत्रबाट छनौटमा परेका तिम्सिना ब्लाष्ट टाइम्सका शनिश्चरे संवाददाता, नाट्यकर्मी महासंघ मोरङका संयोजक, ‘दोबाटे’ हाँस्यटेलिश्रृंखलाका लेखक तथा कलाकार समेत हुन् ।
शिक्षकतर्फ पञ्चायत उच्चमाविका भीमप्रसाद लुईटेल, सिंहबाहिनी उच्चमाविकी इन्दिरा गौतम नेपाल, ज्येष्ठ समाजसेवीतर्फ नगर क्षेत्रका डम्बरबहादुर राई र गंगामाया गुरुङलाई पनि दोसल्ला ओढाउँदै सम्मानपत्र तथा उपयोगी सामग्री सहित सम्मान गरिएको छ ।
पथरीशनिश्चरे १ घर भई मकाउमा बस्दै आएका प्रदिपकुमार राईको आर्थिक व्यवस्थापनमा नगर क्षेत्रका अगुवाका रुपमा उनीहरुलाई सम्मान गरिएको हो ।सो अवसरमा राईले क्याम्पसका लागि १ लाख २० हजार मुल्यको ५ थान कम्प्युटर समेत प्रदान गरे । क्याम्पसले उनलाई क्याम्पस परिषद सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । उनको अवधारणामा सम्मान तथा कम्प्युटर सहयोगको कार्यक्रम ल्याइएकोमा वक्ताहरुले खुलेर प्रशंसा गरेका छन् । राईले नगर क्षेत्रको सामुदायिक विद्यालयको शिक्षास्तर उकास्न आफ्नो भरमग्दुर प्रयास रहने बताए ।राईले यसअघि स्थानीय सुनाखरी माविमा कम्प्युटर शिक्षाका लागि अक्षयकोषको अवधारणा ल्याई अक्षयकोषका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ र ४ वर्ष अघि ५ थान कम्प्युटर प्रदान गरेका थिए । माविले पनि राई सहितका ३० अक्षयकोषदातालाई सम्मान गरेको छ ।