भद्रपुर/धार्मिक संस्था एवं गुठीको नाममा दर्ता भएको करीब १४ बिघा जग्गा यहाँको एक अग्रवाल परिवारले बेचबिखन गरेको रहस्य खुलेको छ ।झापाका जमिदार स्व. सत्यनारायण अग्रवालका छोरा स्व. मोहनलाल अग्रवालले गुठीको जग्गा कानुन विपरीत बेचबिखन गरेको घटना बाहिर आएको हो । ३४ वर्षअघि भूमिसुधार कार्यालय चन्द्रगढीले भद्रपुर–४ हाल भद्रपुर–८ स्थित शिव लक्ष्मीनारायण मन्दिरको नामको स्वामित्वमा रहेको जग्गाको लेखाजोखाको विषयमा सत्यनारायणसँग स्पष्टीकरण मागेको थियो ।
कार्यालयले भूमिसम्बन्धी ऐन ०२१ को दफा १२ को खण्ड (च) बमोजिम गुठी अधिनस्थ जग्गालाई मात्र हदबन्दीमा छुट दिने व्यवस्था देखिएको भन्दै सत्यनारायणलाई पत्राचार गरेको थियो । सोही पत्रअनुसार ०३९ साल भदौ २१ गते सत्यनारायणले आÏनो हस्ताक्षरमा भूमिसुधार कार्यालयमा गुठीको जग्गासहितको प्रमाण तथा स्पष्टीकरण पेश गरेका थिए । सो पत्रको बँुदा नम्बर २ मा ‘शिव लक्ष्मीनारायण मन्दिरको नाममा दर्ता र धनीपुर्जा समेत भइसकेकोले मन्दिरको जग्गा मन्दिरकै काममा लाग्छ, म र मेरो परिवार समेत कसैले खान पाउने छैन’ भनी उल्लेख गरिएको छ । सत्यनारायणकी श्रीमती रामकलीदेवीको नाममा रहेको जग्गा उनले मन्दिरको नाममा नामसारी गरेको देखिन्छ । मन्दिरको नाममा राजगढ गाविस–५ को कित्ता नम्बर २१८, २१९, २२०,२२१ को जग्गा १३ बिघा १६ कठ्ठा ५ धुर र भद्रपुर–४ स्थित मन्दिर निर्माण गरिएको २ कठ्ठा साढे दुई धुर जग्गाबाट हुने आम्दानी मन्दिरको पूजा सामग्री, पुजारीको तलब र पर्वपर्वमा विशेष पूजा अर्चनाका लागि छुट्याएको देखिन्छ । ‘सो जग्गा धर्म संस्थाको जग्गा भएकोले मसहित मेरो भावी परिवारले बिक्री गर्न पाउने छैन’ भनी सत्यनारायणले पेश गरेको कागजमा उल्लेख छ । सो जग्गा मन्दिरलाई नामसारी गरेपछि सत्यनारायणले उक्त मन्दिर र भगवान एक धार्मिक संस्था भएको, आÏनो व्यक्तिगत सम्पत्ति होइन भन्ने स्पष्टीकरण दिएका थिए । भूमिसुधार ऐन ०२१ को दफा क देखि ज सम्म लेखिएको बेहोरा मनन गर्दा सोमा लेखिएको जग्गा सीमा बाँधी जतिसुकै जग्गा भएपनि हदबन्दी लाग्ने नसक्ने व्यवस्था छ । त्यसै अन्तर्गत (च) गुठी संस्था ऐन ०२१ बमोजिमको गुठी संस्थाको अधिनस्थ जग्गालाई सरकारले जतिसुकै छुट दिने व्यवस्था अनुसार सत्यनारायणले आप्mनो अन्य जग्गा हदबन्दी हुनबाट जोगाएका थिए ।
तत्कालीन श्री ५ को सरकारले २८ बिघाभन्दा बढी जग्गा भएका व्यक्तिको हकमा हदबन्दीअनुसार कार्वाही गर्ने नियम थियो । सत्यनारायणले ०३९ भदौ १३ गते जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता नम्बर १६ मा रामकलीदेवी सनातन धर्म सेवा समिति भद्रपुर नामको संस्था दर्ता गराएका थिए । सो संस्थाको दर्ता तत्कालीन कामु प्रजिअ अनिरुद्ध ठाकुरले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
संस्था दर्तापश्चात् मन्दिरको सम्पूर्ण जग्गा संस्थामा राखेर मन्दिरको आम्दानी खर्च चलाउने र सो जग्गा निजी जग्गामा जोड्न नमिल्ने भनी सत्यनारायणले भूमिसुधार कार्यालयमा लिखित स्पष्टीकरण दिएका थिए । सो लिखित स्पष्टीकरणपत्र सुरक्षित छ । पिता सत्यनारायणले बेचबिखन गर्न नपाउने भनी लिखित पत्र बनाएपनि स्व. मोहनलालले गुठी अर्थात् मन्दिरको जग्गा बेचबिखन गरिसकेको पारिवारिक निकट स्रोतको दाबी छ । अहिलेको बजार भाउअनुसार सो जग्गाको मूल्य करोडौं पर्छ । मन्दिरको जग्गा सत्यनारायणका सन्ततीले कानुन विपरीत भोगचलन गरेकोले तत्काल सो जग्गाको छानविन हुनुपर्ने स्थानीयले बताएका छन् । जमिदार सत्यनारायणका एक मात्र छोरा स्व. मोहनलाल झापाका पुराना तथा चर्चित उद्योगपति भनेर नेपालमै परिचित थिए । मोहनलालको तीन छोरा महेश, सुरेश र हरिश छन् । अहिले जेठो छोरा महेश र माइला छोरा सुरेशबीच अंशको विषयलाई लिएर चर्किएको घरायसी विवाद प्रहरी–प्रशासनसम्म पुगेको छ ।