दमक/भूटानी शरणार्थीहरुको शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था कारितास नेपालले झापाका बाढीपीडित ४ सय ३७ परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।

संस्थाले जिल्ला देवीप्रकोप उद्धार समिति, विर्तामोड स्थित विराट सामुदायिक अध्ययन केन्द्र, नेपाल रेडक्रस सोसाइटीको संयोजन र स्थानीय गाविसहरुको समन्वयमा दुई दिनसम्म सम्बन्धित गाविसमा पुगेर पीडितहरुलाई प्रत्यक्ष रुपमा राहत सामग्री वितरण गरेको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले जानकारी दिए ।

[caption id="attachment_9677" align="alignnone" width="986"]jhapa1 झापामा आएको बाढिले डुवानमा परेका घर । फायल तस्विर[/caption]

प्रमुख जिल्ला अधिकारी मदन भूजेल, चारआली ब्यारेकका कर्णेल खेम नारायण पौडेल, झापा जिल्ला रेडक्रस सोसाइटी लगायतको सहभागितामा आइतबार र सोमबार राहत सामग्री वितरण गरिएको कारितास नेपालको दमक कार्यालयका वरिष्ठ अधिकृत देवेन्द्र पोखरेलले बताए । उनका अनुसार आइतबार चकचकी, राजगढ, घेराबारी, डाँगीबारी र कनकाई नगरपालिका अन्तर्गतको घैलाडुब्बाका बाढीपीडितलाई राहत बितरण गरियो । त्यत्सै सोमबार कोरोबारी, कुमरखोद, शरणामती, दुहागढी, गरामनी गाविस र कनकाई नगरपालिकाका बाढीपीडितलाई प्रति परिवार १० केजी चामल, ३ केजी मुसुरो दाल, २ केजीचिनी, २ लिटर खानेतेल र २ पोका नून उपलब्ध गराइएको हो ।

प्राप्त विवरण अनुसार राजगढका १५९, घेराबारीका ८७, चकचकीका ३४, डाँगीबारीका १८, घैलाडुब्बाका ३, विर्तामोडका १, कोरोबारीका १६, कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गाका १५, कुमरखोदका ६४, शरणामतीका १८, गरामनीका १३ र दुहागढीका १२ परिवारलाई कारितासले उपलब्ध गराएको प्रतिपरिवार १६ सय रुपैयाँबराबरको खाद्य सामग्री वितरण गरिएको सिटौलाले बताए । सम्बन्धित गाविस तथा रेडक्रस भवन परिसरमा संक्षिप्त कार्यक्रम आयोजना गरी नाम अनुसार व्यवस्थित रुपमा राहत वितरण गरिएको रेडक्रसकर्मी चन्द्र चुडालले बताए ।

ती क्षेत्रका बाढीपीडितले पहिलोपटक आफूहरुले राहत सामग्री पाएको भन्दै उपलब्ध गराउने संस्था कारितास नेपाल तथा संयोजनकारी भूमिका निर्वाह गरेका संस्थाहरुलाई धन्यवाद दिएकाथिए । साउन पहिलो साता भएको अविरल वर्षापछि विभिन्न खोला तथा नदीहरुमा आएको बाढीका कारण एक हजार भन्दा बढी परिवार विस्थापित बनेका छन् । ती क्षेत्रमा सयौं विगाहा धान खेती खोलाले बगाएको छ । झापाको दक्षिणी गाविसहरुका बाढी पीडितहरुलाई यसअघि नै विभिन्न संघ–संस्थाको सहयोगमा जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत सामग्री उपलब्ध गराइसकेको छ ।

ती गाविसहरुमा अदुवा, विरिङ, कनकाई, घाग्रा लगायतका खोलामा आएको बाढीले क्षति पुर्याएको हो । राजगढमा ५ परिवार पूरै विस्थापित रहेको त्यहाँका सचिव तेजकुमार रेग्मीले जानकारी दिए । घेराबारीका बाढीपीडित सबै १८ परिवार पूर्ण विस्थापित भएका छन् । उनीहरु मध्ये १३ परिवारले पाँच हजार नगद पनि स्थानीय प्रशासनबाट पाएका छन् भने ५ परिवारले त्यो रकम नपाएको मागुनासो गरेको गाविस सचिव प्रेम काफ्लले बताए ।

समितिसँग कै समन्वयमा आफूहरुले हालसम्म राहत पाउनबाट वञ्चित पीडितहरुलाई राहत सामग्रीउपलब्ध गराएको कारितासका वरिष्ठ अधिकृत पोखरेलले बताए । ‘डुप्लिकेशन नहोस् भन्ने हाम्रो सोचाइ थियो’, उनले भने– ‘त्यसै अनुसार राहत वितरण गर्न सकियो ।’ कारितास प्रकोप व्यवस्थापन, उद्धार तथा राहतकाकार्यमा सक्रिपूर्वक लाग्ने उनको भनाइ थियो ।