धरान/ अखिल नेपाल जनसाँस्कृतिक महासङ्घले आइतबार ‘समसामयिक चेतनाका स्वरहरु’ विषयक कविता गोष्ठी आयोजना गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस परिसरमा सम्पन्न गोष्ठीमा धरानका बरिष्ठदेखि कनिष्ठसम्मका कवि सहभागी बनेका थिए ।
मेचीकाली अभियान अन्तर्गत गरिएको कविता गोष्ठीमा कवि बम देवान, कुन्ता शर्मा, प्रा. डा. भीम खतिवडा लगायत एक दर्जनभन्दा बढी कविले कविता सुनाएका थिए ।

राष्ट्रिय स्वाधीनताको सवाल, सीमा अतिक्रमण, जनजिवीकाको सवाल, भ्रष्टाचार, महङ्गीको विरुद्ध जनचेतना जगाउनको लागि कार्यक्रम गरिएको महासङ्घले जनाएको छ । महासङ्घका केन्द्रीय सदस्य खेम थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादीका जिल्ला सेक्रेटरी युगेन लगायत सहभागी थिए ।
गोष्ठीमा पद्यात्मक कवितादेखि गद्य रचनाहरु सुनाइएका थिए । गोष्ठीमा खेमराज खनाल, शङ्कर सुवेदी, इन्द्र राई, कृष्ण पुर्कुटी, अम्बिका राई, सीता बस्नेत, लीलाराज भण्डारी, मनि राई गोठाले, केशवकुमार सुनाम, हर्कराज चर्मकारले पनि कविता वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य जमुना श्रेष्ठले गरेकी थिइन् ।