धरान / सरकारले सहायक राजमार्गहरुको मापदण्ड लागू गराउने निर्णय गरेसँगै धरान चतरा जोड्ने धनकुटे रोडबासीहरु आन्दोलित बनेका छन् । सरकारको सहायक राजमार्गको मापदण्ढ एकसय ४० फिट कायम गरेको छ ।

जुन मापदण्डका कारण धनकुटे रोडमा जोडिएका अधिकांस घरहरु भत्किने सम्भावना बढेर गएको छ । अहिले धनकुटे रोडसँग जोडिएका धरान–८, १९, १८, १७ का वार्डबासीहरु यतिखेर सरकारले लागू गरेको मापदण्डको विरोधमा उत्रिएका हुन् । अहिले धरान उपमहानगरपालिकालेसमेत नयाँ घरको जग्गा पास गर्दा नयाँ मापदण्ड अनुसार मात्रै गर्ने गरेको छ । नत्र, घरनक्सा पास रोक्का गर्ने गरेको छ । ‘नयाँ मापदण्ड अनुसार सडक अधिकार क्षेत्र ३० मिटर र दुबै साइडमा ६–६ मिटर छाडेमात्रै घरनक्सा पास हुन्छ ।’ धरान उपमहानगरपालिका योजना शाखाका बरिष्ठ सुरज श्रेष्ठले भन्छन् ।
यो मापदण्डको विरुद्धमा अहिले दैनिक धनकुटे रोडबासीहरु छलफल गर्दै धरान उपमहानगरविरुद्धमा उत्रिने गरेका छन् । ‘यो मापदण्ड अनुसार धनकुटे रोडमा रहेका सबै घरजग्गा जान्छन् ।’ धनकुटे टोल सुधार समितिकी अध्यक्ष भावना लिम्बू भन्छिन् ‘५ देखि १२ धुरसम्म जग्गा जान्छ ।’ उनीहरुले २०४५ सालमा नगर विकास समितिले गरेको ७२ फुटे सडक विस्तारलाई मान्न तयार रहेको बताएका छन् ।
‘७२ फिटसम्म हामी छाड्न तयार छौं ।’ धनकुटे रोडबासी सुनिल खड्का भन्छन् ‘अहिलेको निर्णय कदापी मान्दैनौं ।’ नयाँ मापदण्डको विरुद्धमा उनीहरुले धरान उपमहानगरलाई ज्ञापनसमेत दिने भएका छन् । सडक विभागमासमेत बोदार्थ पठाउने तयारी भइरहेको बताएका छन् । बैकल्पिक मार्ग भन्दै अहिले सरकारले हचुवाको भरमा निर्णय गरेको उनीहरुको ठहर छ । यस विषयमा डिभिजन सडक कार्यालय विराटनगरका प्रमुख डिई रामचन्द्र राउतलाई बारम्बार मोबाइलमा सम्पर्क गरे पनि फोन बन्द थियो ।
यता धरान उपमहागनरका इन्जिनियर श्रेष्ठले सरकारको निर्णयविरुद्धमा धरान उपमहानगरले कुनै पनि कार्य गर्न नसक्ने बताए । उनले भने ‘यो मापदण्ड सरकारले कायम गरेको हो । नगरपालिकाले होइन् । त्यसैले हामीले केही गर्न सक्ने अवस्थै छैन् ।’ सरकारले २०३३ साल मै सहायक राजमार्गको मापदण्ड पनि ३० मिटर सडक र दुबैपट्टी ६–६ मिटर छाड्नु पर्ने प्रावधान तोकेको छ । मापदण्ड अनुसार मात्रै धरान उपमहानगरले नक्सा पास गरेपछि अहिले धेरैको नक्सा पास भएको छैन् । त्यसमध्येका पूर्व डिएसपी देवेन्द्र बास्तोलाको पनि घरनक्सा पास रोक्का भएको थियो ।
नयाँ मापदण्ड अनुसार गएकैले अहिले त्यस क्षेत्रको जग्गाको कारोबार, तथा बैकिंग कारोबारसमेत ठप्प बनेको छ । नयाँ मापदण्ड अनुसार धनकुटे रोडमा रहेको मात्रै हैन, चतरा सडक खण्डमा पर्ने सबैजसो घर भत्किने छ । यो हिसावले पनि धरान भित्र मात्रै करिव ५ सय बढी घरहरु भत्किने तथा जग्गाहरु काट्ने निश्चित छ ।