विराटनगर/धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीको सृजना समेटिएको गीति संग्रहको शनिवार विराटनगरमा बिमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको समारोहमा ‘पहिलो स्पर्श’ गीति संग्रह बिमोचन गरिएको हो । गीतकार अधिकारीले संगीतवद्ध गरेका चारवटा गीतहरुसमेत पुस्तकमा समावेश छन् । संग्रहको बिमोचन संगीत तथा नाट्य कला प्रतिष्ठानका प्राज्ञ राम धामीले गरे । अधिकारीले रचना गरेका गीतका शव्दहरु सरल र मिठो भएपनि संगीत संयोजन र गायन कलाले मात्र मुर्तरुप दिने बताए । गीतकारले रचना गरेको गीतहरुको संग्रह पुस्तकमा प्रकाशित हुनुले बौद्धिक सम्पतीको सुरक्षा गर्ने बाटो खुलेको भन्दै धामीले आफ्नो रचना चोरी भयो भनेर आउने गरेको गुनासोहरुलाई यसरी नै कम गर्न सकिने बताए । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकमा समेटिएका कृतिहरुमाथि साहित्यकार सुमन पोखरेलले टिप्पणी गरे । उनले बिमोचनकै क्रममा समालोचना गर्दा पाठकहरुले निष्पक्ष भएर मुल्यांकन गर्न नसक्ने भन्दै त्यस्तो प्रचलनमा परिवर्तन ल्याउनु पर्ने बिचार व्यक्त गरे । उनले गीत संग्रहमा प्रेम र देशप्रेम भाव झल्कने, आधुनिक तथा लोक भाकामा आधारित गीतहरु समावेश भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, साहित्यकारहरु कविराज न्यौपाने, खेम नेपाली, गंगा सुवेदी, दधिराज सुवेदी लगायतले प्रकाशित कृतिहरुमाथि चर्चा गरे ।