विराटनगर/तराईको जमिनमा पानी जमेपछि सुरक्षित स्थान खोज्दै घर तथा गोठमा सर्पको बिगविगी बढेको छ । सुख्खा तथा पानी नभएको स्थान खोज्दै घरगोठमा सर्प पस्नाले मोरङमा सर्पदंशको बिरामी ह्वातै बढेका छन् । snak सर्पको डसाईबाट अहिले दैनिक दुई तीन जनाको दरले कोशी अञ्चल अस्पतालमा बिरामीहरु आउने गरेका छन् । कोशी अञ्चल अस्पतालका आकस्मीक कक्षका इन्चार्ज डाक्टर रघुनन्दन अधिकारीले सर्पदंशका विरामीहरु नियमितरुपमा आइरहेको जानकारी दिनुभयो । उहाँले झरी पर्ने क्रम बढेसंगै सर्पको डसाई पनि बढेको आफुले अनुभूति गरेको बताउनुभयो । बितेको एक वर्षको अवधिमा सर्पको डसाईबाट बिरामी परेका ६ सय ६३ जना बिरामी परेका थिए । असार र साउन महिनाको यो अवधिमा मात्र करिव ५ सय जनालाई सर्पले डसेको अस्पतालले जनाएको छ । सर्पको डसाईबाट बिरामी परेकाहरु कोशी अञ्चल अस्पतालमा मात्र नआउने भएकोले त्यसको यकिन तथ्यांक भेटिदैन । यस क्षेत्रका मानिसहरु सर्पको डसाई पछि सबैभन्दा पहिले सुरक्षित मानिएको नेपाली सेनाको पूर्वी प्रितना कार्यालय इटहरी जान रुचाउँछन् भने त्यसपछि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको दमक स्थित रेडक्रस कार्यालयमा उपचारकालागि जाने गर्दछन् । त्यसपछिको रोजाई मात्र कोशी अञ्चल अस्पताल र स्थानीय अरु अस्पतालहरुमा रहने गरेको छ । बर्षायाममा सर्पहरु बाहिर निस्कने भएकाले खेत, बारी र जङ्गलमा घाँसदाउरा गर्न जानेहरु पनि सर्पकोे डसाइबाट उतिकै प्रभावित छन् । सबैको एकीकृत तथ्यांक नआएपनि चारैतिर पानी जमेर बासस्थान गुमाएका सर्प घर, गोठ, परालको टाल, दाउराको चाङ, पानी नजम्ने उचो जमिन आदिमा लुक्ने भएकोले डसाईबाट धेरै मानिस प्रभावित बनेका छन् । तराईमा करेत र गोमन प्रजातीका सर्व अधिक बिषालु मानिन्छ । सर्पले डसेर आएकाहरु मध्ये अधिकांशलाई तिनै प्रचातिका सर्पले डसेको पाइएको अस्पतालले जनाएको छ । त्यसबाहेक ढोडिया, हरहरा, धामन आदि सर्पको डसाईबाट बिरामी भएकाहरु पनि अस्पताल आएका छन् । त्यो संख्या भने करिव दश प्रतिशत रहेको छ । रातको समयमा करेत सर्पको डसाई बढी पाइएको छ भने विहान दिउँसो गोमनको डसाई बढी संख्यामा पाइने गरेको इन्चार्ज अधिकारीले जानकारी दिनुभयो । तराईमा पाईने बिशालु सर्प करेत र गोमन प्रजातिका सर्पले टोकेमा तुरुन्त उपचार शुरु नगरे बिरामीको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सर्पदशका बिरामीको उपचार कम्तिमा ४८ घण्टा चिकित्सकको निगरानीमा गराउनु पर्ने हुन्छ । चैतदेखि असोजसम्म विषालु सर्पहरु बाहिर निस्किने भएकाले हुनाले यस समयमा सर्तकता अपनाउनुपर्ने चिकित्सवहरु बताउँछन् । कोशी अञ्चल अस्पतालमा यहि अनुपातमा सर्पदंशका बिरामी आएको खण्डमा आवश्यक पर्ने औषधि मौज्दात रहेको छ । तर संख्या अधिक बढेको खण्डमा एण्टी स्नेक भेनमको अभाव हुनसक्ने छ ।