शनिश्चरे /पूर्वाञ्चलका शास्त्रिय संगीतसँग आबद्ध प्रतिभाहरुको संस्था ‘शास्त्रिय संगीत समाज नेपाल’ को प्रथम अधिवेशनले वरिष्ठ संगीतकर्मी कुशेश्वर राईलाई अध्यक्ष चुनेर २१ सदस्यीय समिति निर्माण गरेको छ । राईकै संयोजकत्वमा २०६९ साल चैत्र २८ गते गठन भएको ‘पूर्वाञ्चल शास्त्रिय संगीत समाज’ को झापाको सुरुङ्गामा सम्पन्न अधिवेशनमा नाम समेत परिवर्तन गरी ‘शास्त्रिय संगीत समाज नेपाल’ नामाकरण गरिएको हो । जसको उपाध्यक्षमा महिमा शर्मा, ध्रुव पाठक, केशव कार्की, यशोदा शाक्य, दीपक रायामाझी, महासचिवमा सोम याम्फू चयन भएका छन् । त्यस्तै, सचिवमा कमला नेम्वाङ, दिनेश घिमिरे र कमला खनाल तथा कोषाध्यक्षमा हरि उप्रेतीलाई चयन गरिएको छ । सदस्यमा कोपिला लिम्बु, दुर्गा ओली, लालिमा श्रेष्ठ, मेघराज कार्की, तुलसा पाठक र भरत घिमिरे रहेका छन् । पछि चारजना सदस्य थपिनेछन् । राजु केशीलाई सल्लाहकार समिति अध्यक्ष तथा भोला राई, जनार्दन मण्डल र गोपाल कौशिललाई सल्लाहकार सदस्यमा समेत मनोनित गरिएको छ । तत्काललाई पूर्वाञ्चलभरिकाहरु समेटिएपनि अवका दिनमा देशभरीका शास्त्रिय संगीत क्षेत्रमा रहेकाहरुलाई समेट्ने संस्थाको योजना रहेको महासचिव सोम याम्फूले जनाए ।