धरान/झर्रा र लोपोन्मुख शब्दको संयोजन रहेको ‘फेरि अर्को अनुष्टुप’ र लिम्बू मिथकको ‘बजिया आँखाहरु’ का कविहरु धरानमा शनिबार गुञ्जिए ।
आयमेली गाउँबाट आएका कवि सुधीर छेत्री र भूपेन्द्र सुब्बाका एकदर्जन कविताहरु कलरव धरान र विमल स्मृति पुस्तकालय धरानले गुञ्जाउने अवसर सिर्जना गरिदिए । उनीहरुले ती कविता संग्रहहरुबाट एक दर्जन कविताहरु गुञ्जिदा विराटनगर, धरान, इटहरी र तरहराका कविहरुसमेत मुग्ध बने । बजिया आँखाहरु शिर्षकको कवितामा कवि सुब्बा धाराबाहिक अघि बढ्दा तालीका पर्राहरु छुटे । उनले अमरध्वज सुब्बा, बर्खालगायतका कविता वाचन गरेका थिए ।

होटल रत्ना इनको हल नै कविमय बनिदियो । अर्का कवि छेत्रीले पनि फेरि अर्को अनुष्टुपलगायत १२ वटा कविताहरु खरर पढे । जहाँ झरी बादल नभनी कविताको आनन्द लिन पुगेकाहरुसमेत मुग्ध बने । करिव ८ महिना अघि मात्रै बजारमा आएको छेत्रीको कविता संग्रहबाट उनले बोजु फर्किइन, माइला र युद्द, साथै पहिरोलगायत शिर्षकको कविता बाचन गरे । दार्जिलिङ र कालिङपोङको प्रतिनिधित्व गर्ने यी कविहरुलाई पहिलो अवसर सिर्जना गरिदिएको आयोजकसमेत आनन्दको श्वास फेरेको छ ।
‘झरी वर्षाका वाबजुद पनि स्रष्टाहरु सहभागी भइदिनु भएको थियो ।’ कलरवका प्रतिनिधि एवम् कवि सुदीप पाख्रिनले भने । समग्रमा कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिँदै कविता कृतिमाथि अग्रज कवि वम देवान र कुन्ता शर्माले १०–१० मिनेट बोलेका थिए । कवि हेमन यात्रीको छन्दमय सञ्चालनले थप रौनकता थपेको थियो । कवि देवानले भूपेन्द्रको कविता कृतिमाथि बोलेका थिए । यो कविता कृति ढेडवर्ष अघि बजारमा आएको हो । त्यस्तै कुन्ताले सुधिरको कृतिमाथि चर्चा गरेकी थिइन् ।