शनिश्चरे/मोरङको अमरदह गाविस कार्यालयको नाममा रहेको ७ कठ्ठा जग्गा हडपेर एक व्यक्तिले घर निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् ।
स्थानीय शिव बढाई शर्माले गाविसको स्वामित्वमा रहेको जग्गामा घर बनाएपछि दलका प्रतिनिधिले शर्मालाई घर निर्माण कार्य रोक्न दवाब दिँदासमेत अटेर गरेको पत्रकार सम्मेलनमा स्थानीय युवा प्रताप तामाङले बताए । अमरदह गाविसको सर्वदलीय संयन्त्रले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी मोरङमा हडपेको जग्गा फिर्ता गरी घर निर्माण कार्य रोक्न उजुरी दिएपनि शर्माले शक्तिको भरमा अटेर गरेको उनको आरोप छ ।

स्थानीयको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अमरदह प्रहरी चौकीलाई घर निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । तर जिल्ला प्रहरी कार्यालयको निर्देशन अटेर गरी शर्माले घर बनाउने, माछा पोखरी खन्ने कार्य गरिरहेको तामाङले उल्लेख गरे ।
अमरदह–१ ‘घ’ को कित्ता १९५ नम्बरको ७ कठ्ठा जग्गा अतिक्रमण गर्न थालेपछि गाविस र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको थियो । गाविसले तत्काल घर निर्माण कार्य रोक्नका लागि सर्वदलीय बैठक बसी प्रहरी र प्रशासनका जिल्लास्थित निकायलाई जानकारी गराएको थियो । त्यसपछि प्रहरी र जिल्ला प्रशासनले रोक्न निर्देशन दिएपनि अमरदह प्रहरी चौकीले निर्देशन नमानेको निवर्तमान गाविस अध्यक्ष महेश्वरप्रसाद राजवंशीको आरोप छ ।
‘जग्गा सरकारको ठहर भए छाड्ने भने पनि शर्माले व्यवहारमा त्यो लागु गरेनन्’, उनले भने ।
शर्माले २ कठ्ठा जग्गा किनेर ७ कठ्ठा अतिक्रमण गरेको नेपाली काङ्ग्रेसका अमरदह सभापति गणेशकुमार श्रेष्ठले बताए । बजारको मुख्य भागमा रहेको सो जग्गाको मूल्य हाल प्रतिधुर १ लाख ५० हजार रुपैयाँ छ । उता, एमालेका अमरदह अध्यक्ष टेकबहादुर भट्टराईले भने सुरक्षा निकायले नै बेवास्ता गर्दा सरकारी जमीन अतिक्रमण भएको जिकिर गरे । भट्टराईले जग्गा अतिक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नुको साटो संरक्षण गरेको आरोप लगाए ।
अमरदह प्रहरी चौकीका इञ्चार्ज डीएसपी कुमारराज पौडेलले भने जिल्ला प्रहरी कार्यालयबाट निर्देशन आएपछि आपूmहरुले निर्माण कार्य रोकेको दावी गरेका छन् ।प्रहरीको भनाइप्रति स्थानीय सहमत छैनन् ।
स्थानीय योगेन्द्र राजवंशी र हरिलाल ऋषिदेवले घर निर्माण कार्य नरोकिएको बताए । शनिबार मात्र छानो लगाइएको उनीहरुले जनाए । आइतबार स्थानीय युवाको अगुवाइमा अतिक्रमित जग्गामा पत्रकार सम्मेलन भइरहँदा पनि सो जग्गामा सिंचाइ भइरहेको र केही घण्टा अघिमात्र शर्माले सो जग्गामा ट्रयाक्टर लगाएर जोतेका थिए । शर्माले भने आपूmले किनेको जग्गा उपभोग गरेको जिकिर गरेका छन् ।