धरान / विना कारण निकालिएको आफ्नो मजदुरको पुर्नबहाली माग्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा मजदुर आन्दोलनमा उत्रिएका छन् । एमाले निकट नेपाल सुरक्षा श्रमिक ट्रेड युनियक इकाई कमिटी मंगलबारदेखि धर्ना दिने भएका हुन् । विना कारण निकालिएका मजदुर गोपी योगीको विना शर्त पुर्नबहालीको कमिटीले माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कमिटीले पुर्नबहाली नगरे आज (मंगलबार) बाट एक घण्टा काम छाडेर धर्ना दिने भएका छन् । आन्दोलनको पहिलो चरण अन्तर्गत एक घण्टा र हरेक दिन एक घण्टा बढाउँदै साउन ३ गतेसम्म धर्ना गर्ने भएका छन् ।
बिहान ८ बजेदेखि धर्ना बस्ने युनियनका अध्यक्ष दिपक कार्कीले बताए । अध्यक्ष कार्कीले योगीलाई सामान्य विवाद भएको विषयलाई लिएर निस्काशित गर्ने जुन कार्य भएको छ त्यसको सबै सुरक्षा मजदुरहरुले खुलेर आन्दोलनमा उत्रिने बताए । उनले सबै सुरक्षामजदुरहरुसमेत कामै छाडेर आन्दोलनमा उत्रिने सुरक्षाको जिम्मा पाएको केटिएमलाई चेतावनीसमेत दिए । यस विषयमा असार २४ गते केटिएम, प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्टारलाई तीन दिने ज्ञापन पत्रसहितको अल्टिमेटम दिएको उनले बताए ।
अल्टिमेटम दिएको तीनदिन बितिसक्दासमेत सुनुवाई नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन् । उनीहरुको आन्दोलनमा एमाले निकट मजदुर ट्रेड युनियन जिफन्ट, युवा संघ नेपाल, सरसफाई मजदुर, स्वयमसेविका, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनलगायतले खुलेरै सहयोग गरेका छन् । योगीको समस्या चैत्रदेखि सुरु भएको हो ।